काठमाडाैं। चितवनका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ। भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो।
कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन्। धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन्।
उनका अनुसार डढुवाले पातको फेदमा अण्डाआकारको खैरो थोपाहरु भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खा देखापर्दछ। बोटको माथिल्लो भागमासमेत पुग्छ र सुकेर डढेको जस्तो देखिने यो रोगको लक्षण हो।
नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यसबाट बचाउन सकिने उनले बताए। योसँगै ढुसी नाशक विषादीको प्रयोग गर्दा यो रोग नियन्त्रण गर्न सकिने उनले बताइन्।
पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा लगाइएका धानमा पोटासको कमि देखिएको छ। बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रफलमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखा परेको उनले जानकारी दिए। यसले गर्दा धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउने गर्दछ।
धानमा अहिले गभारोको समस्या उस्तै रहेको उनले बताइन्। वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतलीहरु धानमा लाग्ने गर्दछ। जसको लाभ्रेहरु फिका पहेँला अथवा गुलाबी रङका अवस्थामा शरीरमा धर्का भएका हुन्छन्। यिनीहरु बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्ने गर्दछन्।
यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छन्। बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने उनले जानकारी दिइन्।