काठमाडौं । स्वास्थ्य मन्त्रालयले कमिसनको लोभमा परेर सस्तो स्वास्थ्य सामग्री महँगो मूल्यमा किन्न लागेको पुष्टि भएको छ । चिनियाँ सरकारले नेपाललाई दिएको सामानको मूल्य र सोही सामान नेपालले किन्न लागेको मूल्य हेर्दा उक्त कुरा पुष्टि भएको हो ।
चीन सरकारले आइतबार सरकारलाई हस्तान्तरण गरेको एन ९५ मास्कको मूल्य र सरकारले खरिद गर्न लागेको एन ९५ मास्कको मूल्य आकाश जमिनको फरक पाइएको छ ।
चीन सरकारले निशुल्क उपलब्ध गराएकाे मेडिकल सामग्री, त्यसकाे मूल्य र परिमाण
चीनले एन ९५ मास्क २५६ रुपैयाँमा उपलब्ध गराएको छ । त्यही मास्क सरकारले ८४० रुपैयाँमा किन्न लागेको हो । ‘एउटै देशबाट ल्याउन लागेको एउटै सामानको मूल्यमा कसरी यत्रो फरक हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले क्यापिटल नेपालसंग भने, ‘चिनियाँ दिएको मास्कको गुणस्तर र हामीले किन्न लागेको मास्कको गुणस्तर एउटै हो । मूल्य दोब्बर भन्दा बढी छ ।’
त्यसैगरी, ज्याक मा फाउन्डेसनले दिएको एन ९५ मास्कको मूल्य चीन सरकारले दिएको भन्दा सस्तो छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अलिबाबा फाउन्डेसनले एन ९५ मास्क १७३ रुपैयाँमै उपलब्ध गराएको छ । जबकी नेपाल सरकारले त्यही मास्कलाई ८०० रुपैयाँ भन्दा बढीमा किन्न लागेको हो ।
अभाव देखाएर करोडौं लुट्ने प्रपञ्च, नेपालमा ७ रुपैयाँमा पाइने मास्क चीनबाट ३८ रुपैयाँमा किनिँदै (कुन सामानको मूल्य कति छ, हेर्नुस मूल्य)
चीन सरकारले निशुल्क उपलब्ध गराएका हरेक सामग्री नेपाल सरकारले किन्न लागेको भन्दा धेरै सस्तो पाइएको छ । सरकारले १८ डलरमा चस्मा किन्न लागेको छ । तर, चीन सरकारले ४८० रुपैयाँमै उक्त चस्मा सरकारलाई आइतबार हस्तान्तरण गरिसकेको छ ।
देश गम्भीर संकटमा परेका बेला स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कमिसको लोभमा परेर राज्यकोष दोहनमा लागेको स्वास्थ्यकै अधिकारी बताउँछन् । ‘व्यापारी विशाल पण्डितसँग मिलेर मन्त्रीज्यूले राज्यकोष दोहन गर्न लाग्नु भएको छ,’ ती अधिकारीले भने, ‘त्यसमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको पनि संग्लनता छ ।’
नेपाल सरकारले एक व्यापारीबाट किन्न लागेकाे सामग्री, त्यसकाे मूल्य र परिमाण
चीन सरकारले २ हजार थान एन ९५ मास्क दिएको छ । प्रतिथान मास्कको मूल्य १६.५० आरएमबीका दरले ३३ हजार ६०० रुपैयाँबराबरको मास्क पठाएको हो । त्यसैगरी, २४ हजार थान सर्जिकल मास्क पनि पठाएको छ । चीनले २० हजार थान डिस्पोजेवल मास्क पनि पठाएको छ । ५०० थान चस्मा पठाएको छ । प्रतिचस्माको मूल्य ३० आरएमबी परेको छ । चीनले यसबाहेक विभिन्न सामग्री पनि पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।