अभाव देखाएर करोडौं लुट्ने प्रपञ्च, नेपालमा ७ रुपैयाँमा पाइने मास्क चीनबाट ३८ रुपैयाँमा किनिँदै (कुन सामानकाे मूल्य कति छ, हेर्नुस मूल्य)

account_box सुजन ओली ,
प्रकाशित: २०७६ चैत १५, शनिबार,०९:०३:PM  
अभाव देखाएर करोडौं लुट्ने प्रपञ्च, नेपालमा ७ रुपैयाँमा पाइने मास्क चीनबाट ३८ रुपैयाँमा किनिँदै (कुन सामानकाे मूल्य कति छ, हेर्नुस मूल्य)

काठमाडौं । नेपाली उत्पादकले ५ देखि ७ रुपैयाँमा बिक्री गर्दै आएको मास्क सरकारले ३८ रुपैयाँमा किन्न लागेको खुलेको छ । चिकित्सकले लगाउने मास्क अभाव भएको भन्दै सरकारले चीनको ग्वान्जाओबाट १० लाख थान मास्क खरिद गर्न लागेको खुलेको हो ।

सरकारले प्रति मास्क ३२ सेन्ट अमेरिकी डलरमा खरिद गर्न लागेको छ । ३२ सेन्ट भनेको आजको डलर मूल्य अनुसार ३८ रुपैयाँ हुन आउँछन् । 
जबकी यही गुणस्तरको मास्क नेपाली उत्पादकले अहिले पनि बजारमा ५ देखि ७ रुपैयाँमा बिक्री गरिरहेका छन् । तर, सरकारले ४ गुणा बढी मूल्य लिएर किन्न थालेको हो । 

नेपालमा मास्कको अभाव हुनुपूर्व प्रयोग गरिने मास्कलाई सर्जिकल मास्क भनिन्छ । यसको अधिकतम मूल्य १० रुपैयाँ भन्दा बढी नपर्ने चिकित्सकहरु बताउँछन् । तर, सरकारमा बस्ने मान्छेले कमिसनको लोभमा परेर महँगो मूल्यमा मास्क मगाउन लागेको चिकित्सकहरु बताउँछन् । 
विगत केही दिन अघि देखि निम्बसले यही प्रकृत्तिको मास्क बनाइरहेको छ । निम्सबले बनाएको प्रतिमास्कको मूल्य ७ रुपैयाँ तोकेको छ । त्यसैगरी यसै हप्ताबाट सोही गुणस्तरको मास्क बनाएर ५ रुपैयाँमा बिक्री गरिरहेका छन् । तर, त्यही मास्कलाई सरकारले अत्यधिक महँगोमा मगाएको हो । 
व्यापारीले देश अप्ठयारोमा परेका बेला एक रुपैयाँ नाफा नखाई मास्क बनाएर बजारमा पठाइरहेका छन् । तर, सरकारी अधिकारीहरु कमिसनको लोभ खान पाइने लोभमा राज्यकोष दोहन गर्न लागिपरेका छन् । 

सरकारले मास्क सहित विभिन्न चिकित्सकीय सामग्री चीनबाट ल्याउन लागेको छ । सरकारले किन्न लागेको हरेक सामग्रीको मूल्य अत्यधिक पाइएको छ । निजी क्षेत्रले पनि चीनबाटै व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) १६ डलरमा मगाएका छन् भने महँगाे मूल्यमा मगाएकाे क्यापिटलले प्रमाण फेला परेको छ । 

‘पीपीई अन्तर्गत पर्ने सम्पूर्ण सामग्रीको मूल्य जोड्दा करिब ६ हजार जति देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर, त्यही सामान निजी क्षेत्रले १६ डलरमा मगाएका छन्, उनीहरुको सामान पनि चीनबाटै आउँदै छ ।’ देश अप्ठयारोमा परेका बेला केही व्यापारीसँग मिलेर राज्यकोषको दोहन हुन लागेको स्वास्थ्यका ती अधिकारीले जानकारी दिए । 

सरकारले १८ ओटा चिकित्सकीय सामग्री ल्याउँदै छ । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज चीनको ग्वान्जाओ गइसकेको छ । तर, सरकारले उल्लेख गरेका हरेक वस्तुको मूल्य सामान्यभन्दा कयौ गुणा बढी देखिएको छ । स्रोतका अनुसार सरकारले मगाएको चस्माको मूल्य ४० रुपैयाँ नेपाली पनि पर्दैैन । स्राेतका अनुसार गुणस्तरीय चस्मा मगाए पनि १ डलरभन्दा बढी पर्दैन । तर, प्रतिचस्माको मूल्य १८ डलर तोकिएको छ । जबकि यो मूल्यमा निजी क्षेत्रका व्यवसायीले पीपीई नै मगाएका छन् । 

स्रोतका अनुसार निजी क्षेत्रले १६ डलरका दरले पीपीइ सेट, ३५ डलरका दरले थर्मोमिटर, १ दशमलव ३६ सेन्टका दरले केएन ९५ फेस मास्क मगाएका छन् । तर सरकारले किन्न लागेको हरेक सामानको मूल्य मनलाग्दी रुपमा तोकिएको फेला परेको हो । 

सरकारले डिस्पोजेवल सूज कभर समेत २ डलरमा किन्न लागेको छ । जबकी यो सुज कभर नेपाली १० रुपैयाँ पनि नपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलागयतले हप्ताक्षर गरेर उक्त सामान किन्न लागेका हुन् । 

स्वास्थ्य मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किट्स लगायतका १८ ओटा आइटम खरिद गर्न लागेको छ । ओम्नीटेक र एक चिनियाँ कम्पनीबाट सरकारले उक्त सामान किन्न लागेका हुन् ।  

कम्पनीहरु यसअघीका उपकरण खरिदमा अनियमितता र विवादमा तानिएर अख्तियारमा समेत उजुरी परेकाले उनले ओम्नीटेकलाई अघी सारेका हुन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा मन्त्री भानुभक्त ढकालले दिलाएको हुन् । स्वास्थ्य सामग्री खरिदमा करोडौं रुपैयाँको चलखेल भएको बताइन्छ । 


 

सुजन ओली

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top