काठमाडौं। पाकिस्तानसँगको सीमा नजिकै पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पले धेरै गाउँ ध्वस्त पारेको र व्यापक क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
विपत्तिमा कम्तीमा २५० जनाको ज्यान गएको र ५०० घाइते भएको अधिकारीहरूले बताएका छन्। खोजी तथा उद्धार टोली प्रभावित क्षेत्रमा पुगेपछि मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
आइतबार राती आएको भूकम्पले छिमेकी नंगरहार प्रान्तको जलालावाद नजिकैको कुनार प्रान्तका सहर र गाउँमा प्रहार गरेको हो।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार ६.० म्याग्निच्युडको यो भूकम्प राती ११ः४७ बजे नंगरहार प्रान्तको जलालावाद सहरको करिब २७ किलोमिटर (१७ माइल) पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो। यसको गहिराइ केवल आठ किलोमिटर (५ माइल) मात्र भएकाले क्षति बढी भएको जनाइएको छ।
कुनार विपद् व्यवस्थापन प्राधिकरणले नुर गुल, सोकी, वटपुर, मनोगी र चापडारे जिल्लामा मात्रै कम्तीमा दुई सय ५० जनाको मृत्यु र पाँच सय बढी घाइते भएको जनाएको छ।
जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने, ‘उद्धार कार्य अझै जारी छ। धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्। मृतक र घाइतेको संख्या लगातार परिवर्तन भइरहेकाले कुनार, नंगरहार र राजधानी काबुलबाट मेडिकल टोली पठाइएका छन्।’
उनका अनुसार धेरै ठाउँबाट अहिलेसम्म हताहतको विस्तृत विवरण प्राप्त हुन सकेको छैन र संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। छिमेकी पाकिस्तानसँगको निकटता र दुवै देशबीचको प्रमुख सीमा नाकाकै कारण जलालाबाद एक हलचलपूर्ण व्यापारिक सहर मानिन्छ।
नगरपालिकाका अनुसार यसको जनसंख्या करिब तीन लाख भए पनि महानगरीय क्षेत्र अझै ठूलो छ। यहाँका अधिकांश भवन कमजोर संरचना भएका छन्, कंक्रिट र इँटाका घर प्रचुर मात्रामा छन् भने बाहिरी क्षेत्रमा माटोका इँटा र काठका घर रहेका छन्। तीमध्ये धेरै कमजोर संरचना भएकाले क्षति गम्भीर भएको बताइन्छ।
जलालाबादमा काबुल नदी बग्छ र यहाँ साइट्रस फलफूल तथा धानसहित कृषि उत्पादन पनि प्रशस्त हुन्छ। यसअघि सन् २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यतिबेला तालिवान सरकारले कम्तीमा चार हजारको मृत्यु भएको जनाएको थियो भने संयुक्त राष्ट्रसंघले करिब एक हजार पाँच सयको मृत्यु भएको अनुमान गरेको थियो। हालैको इतिहासमा त्यो अफगानिस्तानमा आएको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ।–एजेन्सी