काठमाडौं। बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ। हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।
करिब एक वर्षअघिको बाढी पहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए।
कार्यालयले बाढी पहिरोपश्चात पहिलाभन्दा केही फिट उचाईमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ।
बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मंगलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन ठूला बोल्डर तयारी अवस्थामा राखिएको थियो।
कार्यालयले वर्षायाममा बाढी पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडक खण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताए।
विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ। बाढी पहिराले आठ किलोमिटर सडक पूरै बगाएको थियो। क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो।
उक्त राजमार्गमा भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ।
हाल दैनिक करिब तीन हजार सवारी साधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत तेब्बर सवारी साधन ओहोरदोहोर गर्छन्। उक्त राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ।
सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि भक्तपुर सडक डिभिजनलाई सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडक खण्डलाई एक अर्ब उपलब्ध गराएको छ।