काठमाडाैं। चितवनको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको व्यावसायिक खेतीमा जुटेका छन्। भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गरेका हुन्।
यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन्। विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गरेका हुन्। उनले भने, “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ।”
विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उनले बताए। “बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उनले भने, “कोरोना भन्दा पहिला काठमाडौंमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ। कोरोनाकालमा घर आएँ। सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ।”
बजारमा कामिनी फूल रु ८० देखि एक सय र जिप्सी रु दुई हजारसम्म पर्ने गर्दछ। कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ। सुरुआती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिक रूपमा विस्तार गरेको श्रेष्ठले बताए।
हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उनकाे भनाइ छ। व्यवसायलाई अझै बढाउने तयारीमा रहेका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिएका छन्।