काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्कंदै छन्।
प्रधानमन्त्री ओली भदौ १४ मा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन उडेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए। उनले शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।
नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ। सन् २००१ मा स्थापना गरिएको एससीओ संगठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ।
चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्।
अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदार (डायलग पार्टनर) हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए। त्यसैगरी प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरे।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओलीसँग धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन्।