काठमाडौं। बाढीका कारण चीन जोड्ने प्रमुख नाकाहरु रसुवागढी र तातोपानी नाका बन्द भएपछि सरकारले विकल्पको रुपमा उपल्लो मुस्ताङमा रहेको कोरोला नाका सञ्चालनको तयारी थालेको छ।
दसैं, तिहार नजिकिएसँगै चीनबाट आउने सामानहरुलाई सहज रुपमा ल्याउनका लागि कोरोला नाका सञ्चालन गर्ने तयारीका साथ प्रधानमन्त्री कार्यालयमा केही दिनअघि अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभाग, उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित भन्सारसँग सम्बन्धित निकायबीच छलफल भएको हो।
भन्सार विभाग स्रोतका अनुसार तत्काल रसुवागढी र तातोपानी नाका सुचारु हुन नसक्ने अवस्थामा विकल्पको रुपमा कोरोला नाकालाई सञ्चालन गर्ने विषयमा छलफल भएको हो।
दसैं, तिहारका लागि चीनबाट ठूलो मात्रामा लत्ताकपडा, फलफूलसहित सवारी साधनसमेत आउने गरेको छ। तर, दुई नाका केही महिनादेखि बन्द भएसँगै दसैं, तिहारमा नयाँ सामान आउन सक्ने स्थिति नरहँदा महँगी बढ्ने भन्दै सम्भव भएसम्म तत्कालै कोरोला नाका खुलाउने गरी छलफल भएको विभाग श्रोतको दाबी छ।
पोखरादेखि बेनी हुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भूगोलबाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ।
कोरोला नाका सञ्चालनको स्थलगत अध्ययन गर्न भन्सार विभागका केही कर्मचारी मुस्ताङतर्फ गइसकेको र केही जाने तयारीमा लागेको जनाएको छ। नेपाल चीन व्यापार संघका अध्यक्ष रामेश्वर कार्कीले दुई नाकाको विकल्पमा कोरोला उपयुक्त हुने भए पनि सरकारी तयारी नहुँदा दसैंमा खुल्न सक्ने सम्भावना न्यून रहेको बताए।
‘चीनतर्फबाट नाका सञ्चालनका लागि पूर्ण रुपमा तयार छ,’ अध्यक्ष कार्कीले भने, ‘नेपालतर्फको भन्सारमा आवश्यक कम्प्यूटर सिष्टमै जडान नभएको र बैंकसमेत नभएकाले समस्या हुने बताइरहनु भएको छ।’
व्यवसायीहरुले तत्कालका लागि कोरोलामा भन्सार कार्यालय सञ्चालन गर्न नसके पनि त्यस क्षेत्रबाट आएको गाडीलाई सीधै चोभारमा सुख्खा बन्दरगाहामा ल्याएर जाँच गर्ने प्रस्ताव लैजाँदा पनि त्यसका लागि आवश्यक शिलको व्यवस्था नभएको जवाफ सरकारी स्तरबाट पाएकाले तत्कालै खुल्न सक्ने स्थिति नदेखिएको अध्यक्ष कार्कीले जानकारी दिए।
समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाईमा अवस्थित कोरोला नाका २०८० सालमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो। नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो।
पोखरादेखि बेनी हुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भूगोलबाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ। बेनी-जोमसोमसम्मको सडक कालोपत्रे हुने छ।
जोमसोम-कोरोलासम्मको सडक भने ग्राभेल हुनेछ। गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्मको ४३५ किलोमिटर लामो सडकलाई कालीगण्डकी करिडोर नामाकरण गरिएको थियो।