काठमाडौं। नेपालको पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्गको दसैं अगावै टेन्डर आह्वान हुने भएको छ। भौतिक प्रगति ९४.५ प्रतिशत भएसँगै सञ्चालनका लागि टेन्डर आह्वान हुने भएको हो।
सडक विभागका अनुसार, सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि विशेषज्ञ सेवा प्रदायकको खोजी गरिरहेको छ। यसका लागि दसैंअगाडि नै बोलपत्र आह्वान गर्ने तयारी छ। डिसेम्बर महिनाभित्र सेवा प्रदायकको छनोट गरिसक्ने र त्यसपछि २ महिनाको परीक्षण अवधि राखिने विभागका प्रवक्ता तथा उप–महानिर्देशक ई.प्रभात कुमार झाले बताएका छन्।
‘ट्रायल अवधिमा सीमित सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।’ उनले भने, ‘सेवा प्रदायक पूर्ण रूपमा तयार भएपछि मात्र सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ।’
नागढुंगा सुरुङमार्गको दिगो मर्मतसम्भार र सञ्चालनका लागि सवारीसाधनबाट उपभोग दस्तुर (टोल शुल्क) लिने निर्णय गरिएको छ। मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको बैठकले सुरुङमार्ग उपभोग दस्तुरलाई समेत स्वीकृति दिइसकेको छ। सडक विभागका अनुसार, टोल शुल्क संकलनका लागि आरएफआईडी (रेडियो फ्रिक्वोन्सी आइडेन्टीफिकेसन) मा आधारित अत्याधुनिक इलेक्ट्रोनिक प्रणाली प्रयोग गरिनेछ।
यो प्रणालीले सवारीसाधनको विन्डशिल्डमा टाँसिएको बैंक खातासँग जोडिएको आरएफआईडी ट्यागबाट सिधै टोल भुक्तानी गर्न सकिनेछ। यसले गर्दा भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी हुने विश्वास सडक विभागको छ।
सुरुङमार्गको २४सैं घण्टा सञ्चालन, आपत्कालीन उद्धार, आगलागी नियन्त्रण र उच्च प्रविधियुक्त प्रणालीहरू (जस्तैः पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, इमर्जेन्सी फ्यासिलिटी, फायरफाइटिङ, आदि) को नियमित मर्मतसम्भारका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक पर्नेछ। यसका लागि आवश्यक निर्देशिका र मापदण्ड जापानी परामर्शदाताद्वारा तयार भई विभागबाट स्वीकृत भइसकेका विभागले जनाएको छ। अर्थ मन्त्रालयबाट स्रोतको सहमति र मन्त्रिपरिषद्बाट आवश्यक खरिद निर्देशिका समेत स्वीकृत भइसकेको छ। अहिले लागत अनुमान र नमूना बोलपत्र तयारीको काम तीव्र गतिमा भइरहेको छ।