भोजपुर। भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे थालिएको छ। कोसी प्रदेश सरकारको १ अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रे थालिएको हो।
पहिलो खण्ड भोजपुर–दिङ्ला–तीनतले १७ दशमलव ५ किलोमिटर सडक ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैयाँ लागतमा काम भइरहेको छ।
२०८० मंसिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता छ।
यो सडकको भौतिक प्रगति ४५ प्रतिशत हारहारी रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।
दोस्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ।
२०८० पुसमा सम्झौता भएको यो सडकको २०८२ पुसमा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए।
यो सडकको भोतिक प्रगति २० प्रतिशत रहेको छ। यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने प्रमुख रेड्डीको भनाइ छ।
सडक कालोपत्रको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द–१० का स्थानीय निमा शेर्पाले बताए। सडक कालोपत्रे भएपछि यहाँका कृषि उपजको बजारीकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहज हुने उनको भनाइ छ।
सडक कालोपत्रे भएपछि वर्षाको समय संखुवासभा घुमेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतासमेत अन्त्य हुने उनले जानकारी दिए।
यो सडक कालोपत्रे भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहज हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। सडकलाई निर्धारित समयमा गुणस्तरीयढंगले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ।–रासस