काठमाडौं। भारतले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेसन (स्पेस स्टेसन) निर्माण गर्ने लक्ष्य रहेको सार्वजनिक गरेको छ। हालै राष्ट्रिय अन्तरिक्ष दिवस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले १० वर्षभित्र आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजनासहिको प्रतिवेदन पेस गरेको दैनिक भाष्करमा उल्लेख छ।
अबको १० वर्षमा आफ्नै अन्तरिक्ष स्टेसन निर्माण गरी सञ्चालनमा ल्याउने र सन् २०४० सम्म चन्द्रमामा मानव पठाएर त्यहाँबाट नमुना संकलन गरी फिर्ता ल्याउने लक्ष्य रहेको इसरोले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। इसरोका अध्यक्ष भी नारायणनका अनुसार प्रधानमन्त्री मोदीको निर्देशनमा चन्द्रयान–४ र शुक्र ग्रहका लागि अर्बिटर मिसन तयारी अघि बढाइएको हो।
‘सन् २०२८ सम्म ‘भारतीय अन्तरिक्ष स्टेसन’को पहिलो मोड्युल प्रक्षेपण गरिनेछ। २०३५ सम्म पूर्ण रूपमा सञ्चालनमा आउनेछ।’
इसरोले नयाँ पुस्ताको प्रक्षेपण यान ‘नेक्स्ट जेनेरेसन लन्चर’ निर्माणको कामले समेत स्वीकृति पाएको बताएको छ। यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले अन्तरिक्ष अन्वेषणमा विश्वव्यापी रूपमा नयाँ पहिचान बनाएको दाबी गरेका थिए।
‘अन्तरिक्ष एक गन्तव्य मात्र होइन, हाम्रो रकेटले पेलोड (उपकरण) भन्दा धेरै बढी बोक्छ’, प्रधानमन्त्री मोदीले भने, ‘यसले १.४ अर्ब भारतीयको सपना बोकेको हुन्छ। सन् १९६३ मा एउटा सानो रकेट प्रक्षेपण गर्नेदेखि लिएर चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बन्नसम्मको हाम्रो यात्रा उल्लेखनीय छ। यसका लागि इसरोसँग सुझाव मागेका छौं।’
अन्तरिक्ष यात्री शुभान्सु शुक्लाको सफलताको उदाहरण दिँदै भारतले आफ्नै ‘एस्ट्रोनट पुल’ (अन्तरिक्ष यात्रीको समूह) तयार गर्ने र युवालाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गरिरहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले सेमी–क्रायोजेनिक इन्जिन र इलेक्ट्रिक प्रोपल्सनजस्ता प्रविधिमा भारतले हासिल गरेको प्रगतिबारे पनि उल्लेख गरेका थिए।–दैनिक भाष्करबाट साभार