काठमाडौं। लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागमा इन्टरनेट पहुँच अवरुद्ध भएको छ। तर, घटनाका कारण स्पष्ट भएको छैन।
यमनका हुथी विद्रोहीले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबललाई लक्षित गरेको आशंका गरिएको छ।
उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन्। यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए।
स्याटेलाइट जडान र भूमिगत केबलसँगै अन्डरसी केबल इन्टरनेटको मेरुदण्ड मानिन्छन्। सामान्यतया, इन्टरनेट सेवा प्रदायकसँग धेरै पहुँच विन्दु हुन्छन्। यसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ।
माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ। वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ।
इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ। संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलता’लाई जिम्मेवार ठहराएको छ।
दक्षिणपूर्वी एसिया-मध्यपूर्व-पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ। भारत-मध्यपूर्व-पश्चिमी युरोप केबल भने अल्काटेल-लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ। तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।
पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ। तर, साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन।
युएईमा दुबई र अबुधाबीका प्रयोगकर्ताले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन्। तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन।