काठमाडौं। राजनीतिक र प्रशासनिक क्षेत्रमा संस्थागत गरिएको बिचौलिया, कमिसनतन्त्र, बेथिति, भ्रष्टाचार, सामाजिक सन्जालमाथिको प्रतिबन्धलगायतको विरोध गर्दै तन्नेरीको प्रतिनिधित्व गर्ने जेनजी पुस्ताले आजदेखि सरकारविरुद्ध आन्दोलन गर्दै छ।
आन्दोलनको इपी सेन्टर माइतीघर मण्डलाबाट बिहान ११ बजेदेखि सुरु हुन लागेको आन्दोलनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ। जेनजीले विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र वैध हुने बताएका छन्।
आन्दोलनको उद्देश्य भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख छ । यसबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन्।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ। आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन्।
आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारिएको छन्।
जेनजीले सरकार र राज्यका निकायलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्य मानव अधिकार उल्लंघन हुने पनि विज्ञप्तिमा उल्लेख छ।
माइतीघर मण्डलामा हुने प्रदर्शनबारे आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा रणनीति तय गरेको बताइएको छ।
२८ वर्षमुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुन सक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए।
सामाजिक सन्जालमा ‘नेपो बेबी’ ट्रेन्ड भाइरल भइरहेको छ। नेता, प्रशासकका छोराछोरीले विलासी जीवन बिताएको र गरिब झनै गरिब हुँदै गएको नेपो बेबी ट्रेन्डमा उल्लेख छ। राजनीतिक दलका नेता र प्रशासका छोराछोरीले मोजमस्ती गरेको, जनताले तिरेको कर दुरुपयोग गरिएको दाबी छ।
एमाले, कांग्रेस, नेकपा माओवादी, उच्च प्रशासकका छोराछोरी र आसेपासेले बिचौलिया, कमिसनतन्त्र चलाएर भ्रष्टाचार गर्दै अवैध आर्जन गरिरहेको दाबी जेनजी पुस्ताको छ।
तर, भ्रष्टाचारविरुद्ध सडक आन्दोलनमा निस्कने घोषणा गरेसँगै सत्तारुढ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका पार्टी नेताले जेनजी पुस्तालाई अराजकताको संज्ञा दिएका छन्।
