काठमाडौं। राजनीतिक दलका नेताहरुको भ्रष्ट चरित्रका कारण देशको अधोगति र सामाजिक सन्जाल बन्द गर्ने केपी शर्मा ओलीको सरकारको निर्णयविरुद्ध ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर जेनजी पुस्ताले आजदेखि विधिवत् आन्दोलन सुरु गरेको छ।
माइतीघर मण्डलामा कतिपय स्कुल, कलेजको पोसाकमै उपस्थित भएर आन्दोलन सुरु गरेका हुन्।
जेनजी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको छ। माइतीघर मण्डलामा भेला भएका उनीहरु बानेश्वरतिर विभिन्न नारा घन्काउँदै अगाडि बढिरहेका छन्।
जेनजीको आन्दोलनलाई कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रमा आबद्ध संघसंगठनबाहेक अधिकांशले समर्थन गरेका छन्।
सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीप्रति ‘जेनजी’ पुस्ताले रोष प्रकट गरिरहेको छ। सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाएर राजनीतिक दलका नेताहरु ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्।
जनताले तिरेको कर राजनीतिक दलका नेता र तिनका छोराछोरी, उच्च प्रशासकले भ्रष्टाचार गरेको दाबी गर्दै विरोधस्वरुप जेनजी पुस्ता सडक निस्किएको हो।
आन्दोलनको उद्देश्य भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख छ।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ।
आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारिएको छ।