काठमाडौं। भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्वविरुद्ध सुरु भएको जेनजी आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यु सिंहदरबार र शीतलनिवासमा पनि विस्तार गरेको छ। प्रशासनले दिउँसो १ बजेदेखि राती १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।
राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्र्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार काठमाडौं महानगरभित्र चार किल्ला तोकी सो सीमाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो।
शीतलनिवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसीसम्म कर्फ्यु लगाइएको छ।
उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्र्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार संग्र्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म र सिंहदरबार क्षेत्रमा पनि भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मावि मोडसम्म कर्फ्यु आदेश जारी भएको छ।
पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म जारी भएको प्रशासनले जनाएको छ।