काठमाडौं। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र व्यापक भ्रस्टाचारविरुद्ध सुरु भएको नयाँ पुस्ता (जेनजी) को प्रदर्शनमा भएको प्रहरी दमनले अकल्पनीय मानवीय क्षति भएपछि नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का थुप्रै विद्यार्थी नेताहरूले पार्टी र संगठन सदस्यता त्यागेको घोषणा गरेका छन्।
सोमबारको घटनामा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको र सयौं घाइते भएको पुष्टि भइसकेको छ। यसपछि आलोचना चुलिँदै जाँदा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्को दबाब बनेको छ।
फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत अनेरास्ववियुका विभिन्न तहका नेताहरूले पार्टी तथा संगठनसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
अनेरास्ववियुकी निवर्तमान विदेश विभाग प्रमुख स्मृति बरालले ‘विद्यार्थी आन्दोलन कुनै संगठनको झण्डामुनि मात्र सीमित हुँदैन, अब देशको झण्डा ओढेर पनि आन्दोलन गर्न सकिन्छ’ भन्दै एमाले र अनेरास्ववियुसँग सम्बन्ध नरहेको स्पष्ट गरेकी छन्।
गण्डकी प्रदेश सह–संयोजक विश्वदर्शन पराजुलीले १५ वर्ष लामो विद्यार्थी राजनीतिसँगको यात्रा त्याग्दै ‘पार्टी–सरकारले जनताप्रति विश्वासघात गरेको’ भन्दै राजीनामाको घोषणा गरेका छन्।
सुरेश भण्डारी, सुरज खरेल, निकेश गिरीलगायतका नेताहरूले पनि आफ्ना पार्टी सदस्यता कार्डसहित सार्वजनिक रूपमा राजीनामाको घोषणा गरेका छन्। उनीहरूले एमाले नेतृत्वलाई जिम्मेवार ठहर गर्दै अब पीडित र न्यायको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्।
यस्तै, मदन लिम्बू, बलराम बुढाथोकीलगायत विभिन्न स्थानीय तहका नेताहरूले पनि फेसबुकमार्फत पार्टी र संगठन छाडेको अभिव्यक्ति दिएका छन्।
जेनजी पुस्ताको आन्दोलनमा अनेरास्ववियुका नेताहरू औपचारिक रूपमा सक्रिय नभए पनि सरकारी दमनले १९ जनाको ज्यान गुमेपछि व्यापक असन्तुष्टि देखिएको छ। नेताहरूले यो घटना केवल ‘दमन मात्र नभई शासकको दम्भको प्रदर्शन’ भएको भन्दै खुलेरै एमाले नेतृत्व र सरकारप्रति विरोध व्यक्त गरेका छन्।
नेपालमा सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारले गरेको निर्णय र भ्रस्टाचारविरुद्धको असन्तोषकै बीच जेनजी पुस्ता पहिलो पटक सडकमा उत्रिएको थियो।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र गोली चलाएपछि देशभर आक्रोश फैलिएको छ। यसै क्रममा एमाले निकटका नेताहरूले आफ्नो लामो समयको सम्बन्ध विच्छेद गर्दै अब नयाँ पुस्ताको आन्दोलनसँग स्वतन्त्र रूपमा ऐक्यबद्धता जनाउने घोषणा गरेका हुन्।