काठमाडौं। भ्रष्टाचारविरुद्धको आन्दोलनमा सरकारले व्यापक दमन गरेपछि जेनजी पुस्ताको आन्दोलन दोस्रो दिन पनि जारी रहने संकेत देखिएको छ।
सोमबार आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ निहत्था युवाको मृत्यु भएपछि आक्रोश मत्थर पार्न सरकारले ललितपुर र काठमाडौंका चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेलगत्तै कलंकलीबाट युवा पुस्ताले आन्दोलन थालेका छन्।
बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू ठूलो संख्यामा भेला भई विरोध प्रदर्शन गरिरहेका छन्।
शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शनमा उत्रिएका सयौं युवामाथि अन्दाधुन्ध गोली हानिएपछि आन्दोलन झनै चर्किने देखिएको हो।
राजनीतिक नेतृत्वको भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका बेला गोली हानिएपछि सरकारविरुद्ध आक्रोश चुलिँदै गएको छ।
हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। काठमाडौंको मुख्य सडकमा अहिले पनि युवाहरूको भीड बाक्लिँदै गएको छ।
प्रहरी प्रशासनले शान्तिपूर्ण ढंगले आन्दोलन नियन्त्रण गर्न आह्वान गरे पनि राजधानीमा तनावपूर्ण अवस्था यथावत् छ।
दमनविरुद्ध चितवन बन्द
भ्रष्टाचारविरुद्ध जेनजीले देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएकामा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनका कारण २० जना युवाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका छन्।
चितवन जेनजीले अमानवीय दमनको विरोधस्वरूप आज चितवन बन्दको घोषणा गरेको छ।
देशव्यापी भ्रष्टाचारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले यसर्थ, सबै उद्योग, व्यवसायी, यातायात व्यवसायी, विद्यार्थी, श्रमिक, समाजका विभिन्न वर्ग तथा समुदायलाई बन्द सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।
बिहान ११ः०० बजे चौबीसकोठी चोकमा उपस्थित भई भ्रष्टाचारविरोधी आवाजलाई सशक्त बनाउन पनि सम्पूर्ण चितवनबासीलाई आग्रह गरिएको छ।