काठमाडौं। भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध सडकमा निस्किएको जेनजी पुस्तामाथि सोमबार गरिएको नरसंहारपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको आक्रोश झनै बढ्ने देखिँदै छ।
देशमा भ्रष्टाचार नियन्त्रण र गरिखान पाउनुपर्ने मागसहित युवा पुस्ताले माइतीघरबाट नयाँ बानेश्वरमा पुगेर विरोध प्रदर्शन गरिरहेका बेला सरकारको आदेशमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु र ४०० बढी घाइते भएका छन्।
बानेश्वर नरसंहारपछि गृहमन्त्रीले राजीनामा दिए पनि प्रधानमन्त्री ओलीले आन्दोलनकारीसँग माफी माग्नुको साटो झनै चिढ्याउने शब्द खर्चिरहेका छन्।
बिहानैदखि काठमाडौंका तीन वटै जिल्लामा कर्फ्यु आदेश जारी भए पनि सोमबारको हत्याकाण्डविरुद्ध युवा पुस्ता बानेश्वरस्थित संसद् भवन परिसरमा स्वतःस्फूर्त भेला हुन थालेकाे छ।
ब्यानरविहीन युवाले निहत्था साथीमाथि भएको गोलीकाण्डको बदला लिने चेतावनी दिएका छन्। केपी ओली र गृहमन्त्रीमाथि उनीहरुको आक्रोश अझै बढी देखिएको छ। लोकतन्त्रमा माग राख्दा गोली हान्न आदेश दिनेमाथि कारबाही हुनु्पर्ने जेनजी पुस्ताको आग्रह छ।
‘हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वतःस्फूर्त आएको हुँ,’ एक युवाले संसद् भवन परिसर बाहिरबाट भने।
जेनजीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारुढ तथा विपक्षी दलका नेताहरूले बताएका छन् भने सरकारको चौतर्फी आलोचना भइरहेको छ।
प्रधानमन्त्रीले घटनाको छानबिन गरिने भने पनि संसद् भवनमा सोमबार गराइएको नरसंहारको जिम्मा लिनुपर्ने र अपराधीहरुलाई कारबाही माग्दै युवा पुस्ता बानेश्वर भेला भएको हो।
युवा पुस्ता र नागरिकको आक्रोश रोक्न भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश र निषेधित क्षेत्र तोकिए पनि बानेश्वर पुग्ने युवाको संख्या बाक्लिँदै गएको छ।
उपत्यकामा मात्र नभई काठमाडौंबाहिर पनि जेनजी पुस्ताको आन्दोलन तीव्र बन्दै गएको छ। पोखरा, बुटवल, चितवन, इटहरी, विराटनगरलगायत बजारमा आन्दोलन सुरु भइसकेको छ।
सरकारी दमनपछि जेनजीले आन्दोलन अहिंसात्मक एवं शान्तिपूर्ण हुने र निरन्तर रहने उल्लेख गरेको छ। उसले आन्दोलन कुनै राजनीतिक दल, नेता विशेष नभएको र भ्रष्टाचार एवं कुशासनविरुद्ध रहेको स्पष्ट पारेको छ।