काठमाडौं । भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता हनन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएपछि नेपाल गम्भीर राजनीतिक र आर्थिक संकटमा फसेको छ। सोमबार राजधानीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु र ४२१ जना घाइते भएपछि आन्दोलन झन् चर्किएको हो।
सोमबार रातिदेखि नै काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा र देशका प्रमुख सहरहरूमा कर्फ्यु आदेश जारी गरिएको थियो। तर, मंगलबार बिहानैदेखि नयाँ बानेश्वरसहित मुलुकका विभिन्न स्थानमा युवाहरूको भीड सडकमा उर्लिएपछि आन्दोलनले उग्रता लिएको हो।
आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालत र मन्त्री निवाससहितका प्रमुख सरकारी निकायमाथि तोडफोड र आगजनी गरेका छन्। चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले मन्त्रिपरिषद् बैठकमार्फत आफ्नो राजीनामा बुझाएका हुन्। यसअघि नैतिक जिम्मेवारीस्वरूप गृहमन्त्री रमेश लेखकले पनि सोमबार बेलुकी पद त्यागेका थिए।
राजनीतिक अस्थिरताबीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई घरमै कुटपिट गरी घाइते बनाइएको छ। ओलीलाई सेनाको मुख्यालयमा राखिएको छ भने राष्ट्रपति कडा सुरक्षा घेरामा रहेका छन्। नेकपा एसका नेता झलनाथ खनालकी पत्नीको आगलागीमा परेर मृत्यु भएको छ। आन्दोलनकारीहरूले आक्रमण गर्दा तीन प्रहरीको ज्यान गएको छ। प्रमुख नेताहरूका घर, प्रशासनिक भवन र प्रहरी चौकीहरूमा पनि तोडफोड र आगजनी भएका छन्। आन्दोलनकारीहरूको आक्रोश निजी क्षेत्रमाथि पनि परेको छ।
काठमाडौं र पोखरामा भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, चन्द्रागिरि केवलकार, सतुंगलस्थित सिजी ग्राम, श्रीमिक एयरलाइन्स, ग्लोबल कलेजलगायतका प्रतिष्ठानमा आगजनी हुँदा ठूलो वित्तीय घाटा भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल बैंकर्स संघले मंगलबार देशभरका बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ।
यसबीच, रास्वपाका सभापति रवि लामिछाने नख्खु जेलबाट रिहा भई जेनजी आन्दोलनलाई खुलेर समर्थन गरेका छन्। उनले “जेनजीले भनेअनुसार देश चल्नेछ” भन्दै युवाहरूको पक्षमा उभिने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालको संकटलाई केवल सामाजिक सञ्जाल प्रतिबन्धको विरोध नभई, दीर्घकालीन भ्रष्टाचार र राजनीतिक परिवारहरूको विलासी जीवनशैलीविरुद्धको युवा आक्रोशको परिणामका रूपमा चित्रण गरेका छन्।
मानवअधिकार संगठन र अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र छानबिन र नागरिक अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्। नेपाल अहिले राजनीतिक शून्यता र सामाजिक अस्थिरताको खतरनाक मोडमा पुगेको छ। यसबीच, नयाँ राजनीतिक थालनी र संवादका लागि सेनाप्रमुख अशोकराज सिग्देल सक्रिय भएका छन् भने काठमाडौंका मेयर बालेन शाहले पनि वार्ता र संवाद अघि बढाउने प्रयास गरिरहेका छन्।