काठमाडौं। जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अवस्था सामान्य हुने आकलन गरिए पनि देशैभर सार्वजनिक र निजी सम्पत्तिमाथिको तोडफोड नरोकिएपछि सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालित भएका छन्।
सरकारको केन्द्रीय प्रशासनिक अड्डा सिंहदरबारदेखि राष्ट्रपति कार्यालय, संसद् भवनसम्म आन्दोलनकारीको निशानामा परेपछि सेनाले सुरक्षा दिन थालेकाे हाे।
मुलुकको प्रमुख सुरक्षा अंग सेनाले राती १० बजेदेखि शान्ति–सुरक्षा र लुटपाटमा संलग्नमाथि कारबाही थालेपछि अवस्था सामान्य बन्दै गएको जनाएको छ।
बुधबार बिहानैदेखि सुरक्षाकर्मीले माइकिङ गर्दै तोडफोडमा नउत्रिन र सार्वजनिक संरचनामाथि आगलागी नगर्न सम्झाइरहेको छ। सुरक्षाकर्मीको आदेश विपरीत काम गरे कारबाही हुने चेतावनी सेनाले दिएको छ।
मंगलबार दिनभर र रातीसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको हो । राती १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
शान्ति सुरक्षा कायम गर्न र नेपाली नागरिकको रक्षाका लागि खटिएको सेनाले विज्ञप्ति निकालेर जनाएको छ। सेना परिचालनसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएका छन्।
सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ। लुटपाट र आगजनी गर्नेहरु पक्राउ परेका छन्। हालसम्म २७ जना लुटपाट र आगजनीमा संलग्नलाई पक्राउ गरिएको सेनाले जनाएको छ।
सेनाले अराजक गतिविधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ। आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भए सूचना दिन आग्रह गरेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो।