काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जेनजीले उठाएका माग वर्तमान संविधानभित्रबाटै पूरा गरिनुपर्ने बताएका छन्।
आज दाहाल सचिवालयमार्फत जारी विज्ञप्तिमा जेनजी आन्दोलको एजेन्डा लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध नभएको बताउँदै वर्तमान संसदीय प्रक्रियाबाटै पूरा हुन सक्ने धारणा व्यक्त गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न त संसद् विघटनका पक्षमा नै। उनीहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।’
संविधानमार्फत दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिमलगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको अधिकार सुनिश्चित गरिएको पनि उनले बताएका छन्।
‘सिंहदरबारमा केन्द्रित अधिकार गाउँसम्म पुग्यो। यो चानचुने उपलब्धि थिएन। आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
जेनजी आन्दोलनले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको तर आन्दोलनभित्र घुसेर प्रतिगामी तत्त्वले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने धृष्टता गरिरहेको दाबी अध्यक्ष दाहालको छ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण अहिलेको स्थिति आएको बताएका छन्। माओवादी केन्द्रले निरन्तर खबरदारी गरे सरकार दमनको निरंकुश बाटोमा अघि बढिरहेको बताउँदा पनि नसुनिँदा अहिलेको अवस्था आएको दाहालको भनाइ छ।
’यसले सिर्जना गरेको परिस्थितिका कारण जेनजी पुस्ताका युवासहित जनताको आक्रोश विस्फोट हुन पुग्यो। युवाको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो,’ उनले भनेका छन्।
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौ संरचनामा आक्रमण गर्ने जेनजी आन्दोलनकारी नभएको उनले बताए।
दाहालले भनेका छन्, ‘त्यो जेनजी आन्दोलनकारीले गर्न सक्दैनन्। ऊनीहरुबाट भएका होइनन् र भएका घटना उनीहरुको आदर्शअनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ। हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाको उच्चस्तरीय न्यायिक छानबिन माग गर्दछौं।’
जेनजीले पनि माओवादी केन्द्रले उठाउँदै आएको जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन आयोगका पक्षमा आवाज उठाएको दाहाल विज्ञप्तिमा उल्लेख छ।
‘आज जेनजी पुस्ताले समेत यिनै मूलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो। जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोस्रो दिन आयोजकको पूर्ववत् घोषणाविपरीत अवाञ्छित तत्त्वको घुसपैठ देखा पर्न थाल्यो। त्यस्ता तत्त्वबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबारसहितका संरचनामा जे–जसरी लुटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्वाधिक नकारात्मक घटना बन्न पुगे। जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो? यसबारे हामीले गम्भीर रुपमा सोच्नैपर्छ’, विज्ञप्तिमा भनिएको छ।