काठमाडौं। भाद्र २३-२४ गतेका घटनाका क्रममा सर्वोच्च अदालत र अन्य अदालतहरूमा भएको आगजनी र तोडफोडप्रति सर्वोच्च अदालतले गम्भीर चिन्ता व्यक्त गरेको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाका महत्वपूर्ण दस्तावेज र कागजात नष्ट भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। 'नेपालको न्यायिक इतिहासमा महत्वपूर्ण दस्तावेज नष्ट भएका छन्,' विज्ञप्तिमा भनिएको छ।
घटनाका क्रममा सर्वोच्च अदालतका भवन, न्यायाधीशहरूको कार्यकक्ष र न्यायिक कार्यक्रम सञ्चालनमा आवश्यक पर्ने कागजातमा क्षति पुगेको जनाइएको छ।
अदालतले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। प्रहरी र जनताबीच भएको द्वन्द्वमा घाइते भएकाहरूप्रति समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार भाद्र २३ गते आइतबारदेखि अदालतको सेवा बन्द गरिएको छ। सुरक्षा अवस्था र भवनमा भएको क्षतिका कारण कहिलेदेखि सेवा सुचारु हुने भन्ने जानकारी दिइएको छैन।
अदालतले घटनाका क्रममा न्यायिक सम्पत्ति संरक्षणमा सहयोग गर्ने न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुनका विद्यार्थी, सुरक्षाकर्मी एवं सर्वसाधारण नागरिकप्रति धन्यवाद व्यक्त गरेको छ।
यसैबीच, सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य थाल्ने निर्णय गरेको हो।