काठमाडौं। जेनजी पुस्ताको दुईदिने आन्दोलनका क्रममा भदौ २३ मा संसद् भवन परिसरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएपछि भदौ २४ मा मच्याइएको आगजनी, लुटपाट, तोडफोडका कारण उद्योग व्यवसाय ठप्प हुन पुगेका छन्।
आन्दोलनकारीका नाममा मुलुकका प्रतिष्ठित औद्योगिक घराना, उद्योग, व्यवसाय, होटल, सुपरस्टोरलगायतमा आगलागी गरिएको छ। आगलागीका कारण अर्बाैं रुपैयाँ लगानीका उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन्। आगलागी र सुरक्षा नहुँदा उद्योग, व्यवसाय बन्द छन्।
विद्युत् प्राधिकरणले उद्योग, कलकारखाना बन्द भएपछि विद्युत् माग घटेको बताएको छ। प्राधिकरणले आन्दोलन हुनुअघि विद्युत् माग सरदर २३०० मेगावाट रहेकामा अहिले घटेर १६०० पुगेको जनाएको छ।
उद्योग, कलकारखाना बन्द हुँदा विद्युत् माग करिब ७०० मेगावाट घटेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।
उद्योग बन्द हुँदा बिजुलीको आन्तरिक माग कम भए पनि निर्यातमा असर नपरेको उनको भनाइ छ । हाल १००० मेगावाट बिजुली भारत र बंगलादेश निर्यात भइरहेको उनले जानकारी दिए।
आन्दोलनकारीको विध्वंश रोक्न सरकारले निषेधाज्ञा, कर्फ्यु लगाउँदो उद्योगधन्दा बन्द हुनु, सरकारी एवं निजी कार्यालय बन्द हुन, हिल्टनलगायतका होटल जलाइँदा बिजुली खपत घटेको प्राधिकरणको अनुमान छ ।
प्राधिकरणले देशभर विद्युत् आपूर्ति भइरहेको जनाएको छ। आन्दोलनका क्रममा केही स्थानमा आगो लाग्दा फिडर बन्द भए पनि ती ठाउँमा वैकल्पिक तरिकाबाट बिजुली आपूर्ति सहज गराइएको प्रवक्ता ढकालले बताए।
प्राधिकरणले बुधबार काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनामा क्षति पुगेकाले केही फिडर सटडाउनको अवस्थामा राखिएको सूचना जारी गरेको थियो भने प्रदर्शनका कारण ४५ मेगावाटको माथिल्लो भोटेकोसी बन्द गरिएको बताएको थियो।
प्राधिकरणले हाल राष्ट्रिय प्रसारण लाइनमा ३६०० मेगावाट बिजुली जोडिएको जनाएको छ ।