काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंले विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न नसक्ने र अब पुनर्गठन अनिवार्य भइसकेको बताएका छन्।
शुक्रबारदेखि संसद् विघटन भएसँगै नयाँ उदाउन खोजेका पार्टीहरुमा अन्य दलसहित कांग्रेसबाट विकर्षित युवा धेरै भए पनि तिनमा राष्ट्र निर्माणको निश्चित खाका नभएकाले पार्टी पुनर्गठनको खाकासहित अगाडि बढेको बजाईंले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
बजगाईंले निरन्तर एकीकृत एकै विनियोजनमा सम्पन्न गर्न सकिने ठूला परियोजना निर्माण प्रस्ताव गर्दै आएको, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, एयरबेस निर्माण र सैन्य शक्ति सुदृढीकरणमार्फत गोरखालीको पहिचान पुनस्र्थापितसँगै ३/४ घन्टामै ३२ चक्के लरी उत्तर–दक्षिण दौडने राजमार्ग निर्माणको अठोटको प्रतिबद्धता प्रकट गर्दै बताएका छन्।
सडक सुधारका माध्यमबाट उत्पादन र उद्योगलाई सहज पहुँच दिलाउने, विदेशी वित्तीय संस्थाको आमन्त्रण गर्ने, लगानी प्रवाह सहज बनाउने र नीतिगत भ्रष्टाचार निवारण गर्ने विषयमा पनि पहल गर्दै आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले सुधारक भाजपा नेता प्रमोद महाजनको पार्टी दुरुस्त निर्माणको योजनाले आफू प्रभावित भएको बताएका छन्। उनले पार्टीका सदस्यको तीनपुस्ते चालचलन, आर्जन र पैतृक सम्पत्तिको पूर्ण विवरण सफ्टवेयरमा तस्बिरसमेत ठीक ढंगले राख्दै गरेको जानकारी दिएका छन्।
‘मैले त्यस्तै प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गर्न लागें। सामान्य कांग्रेसले दर्ता गर्न लागेको उक्त योजनालाई त्यतिबेलाका शक्तिशाली सह–महामन्त्री र एक महिला नेतृबाट दर्ता गर्न अनुमति दिइनन्। महाजनको पार्टीमा सक्रिय नेता, समर्थक र सत्ता आरोहण गर्नेहरूको सम्पत्तिको लेनदेन अध्ययन गर्ने प्रस्तावजस्तै मैले राखेको उक्त प्रस्ताव बन्द गरियो’, उनले भनेका छन्।
बजगाईंले अब कांग्रेस पुनर्गठन गर्नैपने आवश्यकता औंल्याएका छन्। विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न नसक्ने उनको दाबी छ। उनले आमसमर्थकको बलमा ठूलो समर्पणका साथ सँगै दौडाउन तयार रहेको उल्लेख गरेका छन्।
‘संख्याको बलमा संसदमा हुने गठबन्धन, चुनावमा निहित नेताको क्षेत्रमा दलबाट एक्लै आशीर्वाद प्राप्त गर्नु र पछिल्लो समय प्रतिस्पर्धी दलसँग भइरहेको अनैतिक÷अनाथ्य सहकार्यले समर्थकलाई निरन्तर विकर्षित गराइराख्यो। यी सबै पक्षबाट भइरहेको प्रवृत्ति अब रोकिनुपर्छ’, उनले भनेका छन्।
पार्टी समर्थकलाई कार्यकर्ता भन्न बन्द गरिनुपर्ने, पार्टीमा हुने गरेको प्रतिस्पर्धा स्वस्थ नभएको, पार्टीले पछिल्लो समय भएका सबै गठबन्धन तोड्दै र राष्ट्र निर्माणको गठबन्धनको नौलो रणनीति आत्मसात गर्नैपर्ने अवस्था आएको उनको भनाइ छ।
‘हाम्रो मौलिकता, संस्कृति र सभ्यतासँग अनुकूल हुने गरी देशका सहयोगीसँगको विश्वास उठाउनुपर्छ। यसका लागि एकताले मात्र सम्भव छ। समग्र रूपमा देशको रक्षाशक्ति बलियो बनाउन कांग्रेस सक्षम हुनुपर्छ। अन्यथा, यदि पुनर्गठन भएन भने देशलाई उठाउने कुनै पनि कदम केवल अक्षरमै सीमित हुनेछ,’ उनले भनेका छन्।
उनले आन्दोलन सुरुआतको दिन सेप्टेम्बर ९ अगावै घटनाको अनुमान गर्न सक्नुपर्नेमा त्यसो नभएको बताए। सोही कारण आफूले सेप्टेम्बर ८ राजीनामा घोषणा गरिसकेको उल्लेख गरेका छन्। राजीनामा दिनेमा आफू मात्रै एक्लो सांसद भएको उनको दाबी छ।
सेप्टेम्बर ९ मा युवा पक्षमा सार्वजनिक समर्थन गरेको र निर्दोषमाथि हिंसा गर्न नहुने बताइरहँदा पनि आफ्नो होटलमाथि तोडफोड गरिएकामा उनको गुनासो छ।
‘होटल प्रधानमन्त्रीको निवास नजिकै रहेकाले सूचनाअनुरूप तोडफोड, आगजनी तीव्र हुँदै गर्दा केही प्रतिशोधीले आन्दोलनकारीलाई होटल आगजनी गर्न सामाजिक सञ्जालमा सन्देश पठाइरहेका थिए। अपराह्न ३ बजे आगजनी गरियो। सम्पत्तिको केही भागमा आगो लागेको थियो। क्षति महत्त्वपूर्ण भए पनि म यसलाई जिम्मेवारपूर्वक पुनःनिर्माण गर्ने योजना बनाएको छु, यथासम्भव परियोजना निरन्तरता सुनिश्चित गर्ने प्रयास गर्छु’, उनले भनेका छन्।
बजगाईंले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरिएको, संसद् विघटन भइसकेको अवस्थामा आफ्नो राजीनामाले सार्वजनिक जीवनमा रहने मानिसको निर्णय क्षमता अभिवृद्धि गर्न प्रेरित गर्न सक्छ÷नसक्ने बताउन असमर्थ भए पनि देशको सेवा गर्न सदैव प्रतिबद्ध रहेको उनले जनाएका छन्। देशकै कच्चापदार्थले नेपाली घर र कार्यालय पुनर्निर्माण भए स्वदेशी पैसा खर्चिन सकिने उनले बताएका छन्।
बजगाईंले ध्वंसपछिको पुनर्निर्माण र कानुनी शासन प्रत्याभूति हुनुपर्ने र लोकतन्त्रमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।