काठमाडौं। नेपाली कांग्रेसले संसद् विघटनले लोकतन्त्र कमजोर हुने हुँदा त्यसलाई अस्वीकार गरेको छ। कांग्रेसले नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि लोकतान्त्रिक उपलब्धि र जेनजी आन्दोलनको मर्ममाथि कुठाराघात भएको बताएको हो।
पौडेल कांग्रेस कोटाबाट राष्ट्रपतिमा निर्वाचित हुन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकालेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत छ, संविधानसम्मत बिल्कुल छैन। यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ भने अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ।’
जेनजीको आन्दोलनका क्रममा अराजक समूहले बूढानीलकण्ठ निवासमा सभापति शेरबहादुर देउवालाई आन्दोलनकारीले कुटपिट गर्दा घाइते भएपछि अस्पतालमा उपचारार्थ रहेकाले बैठककको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेको कांग्रेसले जनाएको छ।
बैठकमा सात प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी रहेको बताइएको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको परिस्थितिमा संवादमार्फत समाधानका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्छ र सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्छ भन्ने कांग्रेसले भदौ २५ मै विज्ञप्ति सार्वजनिक गरेको थियो।
जेनजी पुस्ताको माग र भावनाबमोजिम नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने भने पनि संविधानबमोजिम वैधानिक बाटोबाटै अगाडि बढाउन सकिने र विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न साथ रहने प्रतिबद्धता विपरीत कदम भएको कांग्रेसको ठहर छ।
जेनजीबाट प्रस्तावित व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्नेलगायत प्रस्ताव कांग्रेसले राखेको उल्लेख गरिएको छ।
‘तर, संसद् विघटनको यो उपक्रम संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत छ, संविधानसम्मत बिल्कुल छैन। यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ भने अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ,’ कांग्रेसले भनेको छ।