काठमाडौं। विभिन्न आर्थिक पक्ष र देशको विविध विषयमा कलम चलाउँदै आएका उद्यमी राजेशबाबु श्रेष्ठले नेपाली जनतालाई सशक्त बनाउन संविधान संशोधनमा अनिवार्य समावेश गर्नुपर्ने १३ बुँदे सुझाव प्रस्तुत गरेका छन्।
चितवन कोई ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशकसमेत श्रेष्ठले लोकतान्त्रिक विधिबाटै जनतालाई अझ धेरै अधिकार दिन संविधान संशोधनका बेला सम्झिइनुपर्ने बुँदा लिखित रुपमा सार्वजनिक गरेका हुन्।
यी हुन् श्रेष्ठले सार्वजनिक गरेका बुँदा
१. संविधान संशोधन– पारदर्शिता, जवाफदेहिता र संस्थागत नियन्त्रण तथा सन्तुलनलाई सुनिश्चित गर्ने।
२. प्रदेश सरकार खारेज– खर्चिलो र अक्षम प्रदेश प्रणालीलाई हटाई निर्वाचित स्थानीय तह (नगरपालिका र गाउँपालिका)लाई थप अधिकार दिने।
३. विद्यमान प्रणाली निरन्तरता– हालको लोकतान्त्रिक संरचना कायम राख्दै आवश्यक सुधार गर्ने।
४. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख– प्रधानमन्त्री र कार्यकारी प्रमुखलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्ने।
५. प्रधानमन्त्रीको अवधि सीमा– कुनै पनि व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने।
६. स्थानीय निकाय पुनर्संरचना– स्थानीय तहको संख्या घटाई, तिनको अधिकार क्षेत्र र सेवाक्षेत्र बढाउने।
७. सांसदका लागि शैक्षिक योग्यता र उमेर हद अनिवार्य– सक्षम नेतृत्व सुनिश्चित गर्न सांसदका लागि न्यूनतम शैक्षिक योग्यता तोक्ने र अधिकतम उमेर ६५ हुनुपर्ने ।
८. राजनीतिकरहित सामाजिक संघ–संगठन– विद्यार्थी संघ, शिक्षक संघ, पेसागत संस्था र श्रमिक युनियनलाई राजनीतिक सम्बन्धरहित बनाउने।
९. योग्यता आधारित नियुक्ति– सबै तहमा राजनीतिक नियुक्ति हटाई योग्य, शिक्षित र अनुभवी व्यक्तिलाई योग्य व्यक्तिलाई योग्य स्थानमाका आधारमा नियुक्त गर्ने।
१०. आधुनिक प्रशासनिक कार्यविधि– प्रभावकारी प्रशासनका लागि आधुनिक मानक कार्यविधि ( लागू गर्ने, जसमा सरुवा, बढुवा र निजामती कर्मचारी तथा सुरक्षा निकायको जवाफदेहिता स्पष्ट हुने।
११. आह्वानको अधिकार–निर्वाचित जनप्रतिनिधिले काम नगरे वा जनविश्वास तोडेको अवस्थामा नागरिकले उनीहरूलाई फिर्ता बोलाउने अधिकार पाउने।
१२. न्यायोचित जानकारीको अधिकार– नागरिकले प्रत्येक सरकारी निकायबाट निष्पक्ष, समयमा र सत्य सूचना पाउने अधिकार पाउने।
१३. भ्रष्टाचारप्रति शून्य सहनशीलता– कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, दोषी प्रमाणित भए कडा सजाय दिने र सम्पत्ति राष्ट्रियकरण गर्ने।