चितवन। जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण चितवनको इच्छाकामना गाउँपालिकामा ठूलो क्षति पुगेको छ।
गाउँपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा करिब पाँच करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ चढ्ने स्कोरपियो गाडी, उपाध्यक्ष माया सिलवाल चढ्ने महिन्द्रा बलेरो गाडी र चालु हालतमा नरहेको मारुती गाडी गरी तीन थान गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ। तीन वटा मोटरसाइकल जलेर नष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।
उनका अनुसार पालिका प्राङ्गणमा रहेको एक थान जेसिबी र एक थान टिप्पर गाडीमा क्षति पुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको सबै झ्यालको सिसा फुटाउनुका साथै हरेक शाखाको फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत जिन्सी सामग्रीको तोडफोड र कागजपत्र जलाएर नष्ट पारिदिएको छ।
वडा नं. ४ को कार्यालयको माथिल्लो तलामा रहेको कृषि र पशुशाखाका सम्पूर्ण सामग्री, कागजपत्र, प्रयोगशालाको मेसिन कामै नलाग्ने गरी तोडफोड र जलाइ दिएका छन्।
इच्छाकामना गाउँपालिकाको सात वटा वडाहरुमध्ये दुई वटा वडामा ठूलो क्षति पुर्याएको छ। गाउँपालिकासँगै रहेको वडा नं. ४ को कार्यालयको भित्रि भागमा क्षति नपुर्याए पनि झ्यालमा क्षति पुगेको छ।
यस्तै, हपनीमा रहेको वडा नं. २ को कार्यालयमा करोडभन्दा बढी क्षति पुगेको छ। हाल रहेको वडा कार्यालयभित्रै आगजनी गरिदिएका कारण कार्यालयभित्र रहेको सम्पूर्ण जिन्सी सामान र कागजपत्र पूर्ण रुपमा जलेर नष्ट भएको छ भनेसँगै बनाएको उद्घाटन गर्न बाँकी रहेको नवनिर्मित कार्यालय भवनमा आगो लगाइ तोडफोड गरेको क्षति पुगेको छ।
आन्दोलनकारीले कार्यालय तोडफोडका क्रममा एक जना कर्मचारीलाई कुटपिट गरेको छ। कार्यालयको आइटी शाखामा कार्यरत शाखा प्रमुख श्रीराम त्रिपाठीलाई आन्दोलनकारीले कुटपिट गरेका थिए। कुटपिटबाट त्रिपाठीको टाउकोमा चोट लागेको छ।
विध्वंसबाट भएको क्षतिले तत्काल कार्यालयको सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। उनले दसैँअघि कार्यालयको सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए।