काठमाडौं। भाटभटेनीमा आक्रमण भएको मंगलबारको घटना पहिलो मात्रै थिएन। यसअघि गत चैत १५ गते दुर्गा प्रसाईको नेतृत्वमा राजावादीहरुको आन्दोलनमा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाटसँगै तोडफोड भएको थियो।
ती पीडालाई भुल्दै पुर्ननिर्माण गरेर सञ्चालनमा ल्याएको ५ महिनामै कोटेश्वरको भाटभटेनी पूर्ण रुपमा जलेर नष्ट भयो। कोटेश्वरसहितको १२ ठाउँको भाटभटेनी सुपरमार्केट खरानीमा परिणत भएको छ। ९ ठाउँमा रहेको सुपरस्टोरमा तोडफोड भएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले अहिले क्षतिको विवरण संकलन भइरहेको बताउँदै आगामी केही दिनमा कति क्षति भएको हो? भन्ने जानकारी एकीन हुने बताए। जलेका भाटभटेनीबाट अहिलेसम्म चार जनाको शव फेला परिसकेको छ। ती शवको पहिचान खुल्न बाँकी छ।
हजारौँ परिवारको सपना टुट्यो
जेनजीको आन्दोलनमा लुटपाटसँगै आगजनीका कारण एक्लो मीनबहादुरको मात्र सपना टुटेको छैन। यहाँ आबद्ध हजारौँ कर्मचारीको सपना टुटेको छ। हाल भाटभटेनीमा मात्र १० हजारभन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्।
अहिले जलेको र तोडफोड भएका भाटभटेनीमा कम्तीमा पाँच हजारभन्दा बढीले काम गरिरहेका थिए। सायद, ती श्रमिकलाई मीनबहादुरले रोजगारीबाट निकाल्न त निकाल्दैनन्। तर, दसैं तिहारको मुखमा बेरोजगार भने पक्कै भएका छन्।
त्यसैगरी विभिन्न कम्पनीहरुले किसानले उत्पादन गरेको बस्तुहरुलाई प्याकेजिङ र लेभलिङ गरेर बिक्रीका लागि भाटभटेनीमा राख्ने गरेका थिए।
ती पाँच हजारको संख्यामा रहेका व्यक्तिको घरपरिवारले प्रत्यक्ष रुपमा फाइदा लिइरहँदा जेनजीको आन्दोलनबाट सुपरमार्केट जलेपछि परिवारको सपनासमेत टुटेको छ।
आन्दोलनका क्रममा आफ्नो संरचना आगोले ध्वस्त बनाए पनि हजारौँ श्रमिकलाई ध्यानमा राखेर लगानीलाई अझै मजबुत बनाउँदै लैजाने प्रतिबद्धता उनले जनाइसकेका छन्।
किसानको सामान बेच्ने थलो ढल्यो
भाटभटेनीमा सुटेटबुटेट सामान मात्र बिक्री हुँदैन थियो। त्यहाँ किसानले उत्पादन गरेका तरकारी, फलफूलसमेत बिक्री हुँदै आएको थियो। भाटभटेनीले पछिल्लो समय बिचौलियाहरुले किसानबाट थोरै मूल्य दिएर उपभोक्तालाई महंगोमा सामान बेच्ने गरेको भन्दै सीधै किसानबाट सामान ल्याउने गरेका थियो।
केही वर्षअघि भाटभटेनीले सिजनल फलफूल आँप, स्याउ, केरा, अकबरे खोर्सानी, घ्यु, दाललगायतका घरायसी वस्तुहरु किसानले सीधै भाटभटेनीमा बेच्ने गरेको सिओओ पानु पौडेलको भनाइ छ। त्यसैगरी विभिन्न कम्पनीहरुले किसानले उत्पादन गरेको बस्तुहरुलाई प्याकेजिङ र लेभलिङ गरेर बिक्रीका लागि भाटभटेनीमा राख्ने गरेका थिए।
यसले गर्दा किसानले पनि सहजै रुपमा बजार पाउने र प्याकेजिङ, प्रशोधन गर्ने कम्पनीहरुले व्यापार गर्ने थलो पाइरहेका थिए।
‘विभिन्न कम्पनीसँग सम्झौता गरेर भाटभटेनीमा सामान बिक्री हुँदै आएको थियो,’ सिओओ पौडेलले भने, ‘१२ वटा स्टोर जलेर खरानी हुँदा ती संरचना नबन्दासम्म सामान लिन सक्ने अवस्था रहँदैन।’