काभ्रे। यस वर्षको मनसुन सुरु भएसँगै करिब तीन महिनाअघि जोखिमका कारण रातीको समय सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आगामी असोज १ देखि २४सै घन्टा सञ्चालनमा ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समिति बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रु सहजताका लागि सडक सुरक्षामा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ।
कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो।
मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घन्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो।
यसअघि पछिल्लो पटक भदौ १६ देखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ देखि राती सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातीको समय १२ घन्टा रोक लगाइएको थियो।
कार्यालयले पटक–पटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
मनसुनको समय बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राती निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ देखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।
उनका अनुसार काभ्रेको काभ्रेभन्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो। काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभन्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो।
यसअघि काभे्र, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समिति बैठकले गत असार ७ देखि बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो।
गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमि र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमिका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियामा अघि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन्।–रासस