काठमाडौं। २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणा स्रोत पनि बनेका थिए। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
१९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ असोज २ गते भएको हो। खानदानी परिवारमा जन्मिएका उनी १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय भएका थिए।
राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि सिंहलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए।
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। पछि २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिए।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ को क्रान्तिमा अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरे। देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे। नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उनी सदा क्रियाशील रहे।
२०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ मा प्रजातन्त्र अपहरण भएसँगै आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए।
२०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे। २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेले।
गणेशमानले २०३६ को विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे। बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे। १९९७ देखि अनवरत राजनीतिमा समर्पित उनले २०४६ को आन्दोलनमा महत्त्वपूर्ण योगदान दिए।
कम्युनिस्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए।
नेता सिंहको २८औं स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दै छन्। यस अवसरमा आज बिहान ०७ः४५ बजे शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण कार्यक्रम राखिएको जनाइएको छ।