काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झण्डै दुई तिहाईको सरकार बनेसँगै पहिलो कारोबार भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ।
गत शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को नेतृत्वमा शक्तिशाली सरकार बनेसँगै साताको पहिलो दिन आज सेयर बजारले नकारात्मक प्रभाव परेको हो।
सरकार बनेलगत्तै शनिबार बिहानै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए। जेनजी आन्दोलन दमन गरेको भन्दै छानबिन गर्न बनेको समितिको प्रतिवेदन लागू गर्ने भन्दै सरकारले उनीहरूलाई पक्राउ गरेको थियो।
योसँगै एमालेले देशव्यापी आन्दोलन गरिरहेको छ। यस घटनालाई कांग्रेसले सरकारको गतिविधिलाई नियाल्नै भन्दै आगामी रणनीति सार्वजनिक गरेको छैन।
यही उतारचढावबीच आइतबार सेयर बजारमा भारी मात्रामा गिरावट आएको छ। आज परिसूचक ७१ अंकले गिरावट भएको हो। योसँगै आज २८७९ विन्दुमा कायम भएको छ।
बजारमा भारी गिरावट हुँदा जम्मा १० कम्पनीको मूल्य बढेको छ। २५५ कम्पनीको मूल्यमा गिरावट आउँदा १ कम्पनीको मूल्य स्थिर भएको छ।
आज कारोबार भएकामध्ये ६ कम्पनीको मूल्यमा सर्किट लागेको छ। जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिड्जी लाइन इनर्जी लिमिटेड, सूर्यकुण्ड हाइड्रो इलेक्ट्री लिमिटेड, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्।
यस्तै, सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ। कारोबारका आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको सेयर ७१ करोड ११ लाख रुपैयाँको रहेको छ।
आज कूल १५ अर्ब तीन करोड मूल्य बराबरको सेयर किनबेच भएको छ।