कञ्चनपुर। बडादसैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैं मनाउन देश–विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ।
विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपाली यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यसपटक फरक भने दृश्य देखिएको छ।
हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको संख्या बढी छ। चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन्।
परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मंगलबार गड्डाचौकी नाकामा भेटिए। ‘साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैं हुन्छ?’ उनले भने, ‘पैसा भयो भने तिहार मनाउन आउँछु। यसपटक घरमा बसेर दसैं मनाउन पाइएन।’
थापाले दसँंको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबै जना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए।
थापा मात्रै होइन, डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै हिमाञ्चल प्रदेश गएका छन्। बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमानसहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन्। ‘हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौं’, उनको भनाइ थियो, ‘भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौं। तिहारमा घर फर्किंन्छौं।’
लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैंको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए। ‘पैसा नभई दसैं चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नू! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ’, उनले भने।
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौं नेपाली रोजगारीका लागि भारत जाने गरेका छन्। कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए।
‘बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ’, उनले भने। भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसका लागि रोजगारी प्रमुख गन्तव्य हो।–रासस