काठमाडौं। जेनजी आन्दोलनले निर्वाचित सरकार ढलाइदिएपछि संविधानमाथि ग्रहण लागिरहेका बेला आज नेपालको हालसम्मकै अग्रगामी मानिएको नेपालको संविधान २०७२ घोषणा भएको दिनको सम्झना गरिँदै छ।
२०७२ असोज ३ मा घोषणा भएको नेपालको संविधानले समावेशी, गणतन्त्रात्मक शासनव्यवस्थालाई अँगीकार गरेको छ। तर, राजनीतिक दलका नेताहरु सत्ताभोगी हुँदा जेनजी आन्दोलनपछि छायामा पारिएपछि संविधान कार्यान्वयनबारे बहस चलिरहेको छ।
संविधान दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, एमाले अध्यक्ष एवं जेनजी आन्दोलनपछि सैनिक ब्यारेकमा रहेका निवर्तमान प्रधानमन्त्री केपी ओलीबाहेक कांग्रेस, नेकपा माओवादी केन्द्रका अध्यक्षले संविधान दिवस अवसरमा नेपाली जनताप्रति शुभेच्छा व्यक्त गरेका छन्।
नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ:राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
संविधान दिवस अवसरमा शुभकामना आज सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए। उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे।
राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ। उनले यस्तो अवस्थामा नेपालीबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गरेका छन्।
२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदै छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गरेका छन्।
समावेशी सिद्धान्तको पूर्ण पालनामा सबैको प्रतिबद्धता अपरिहार्यः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मौलिक हकको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य उल्लेख गरेका छन्।
संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयास निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ।
पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनःपुष्टि गरेको सन्देशमा उल्लेख छ। ‘संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ’, उनले भनेका छन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलन र पछिल्लो समय ‘जेनजी’को प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते तथा अंगभंग भएकाप्रति उच्च सम्मान र परिवर्तनका अग्रदूतप्रति गहिरो प्रशंसा प्रकट गरेका छन्।
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छः सभामुख घिमिरे
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाइ तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन्।
उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको उल्लेख गरेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोकाढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ।
संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा क्रियाशीलः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाएका छन्।
उनले संविधान दिवस अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदबहिनीलाई शुभकामना दिँदै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गरेका छन्।
अध्यक्ष हादालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरेका छन्।
परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यकः दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक रहेको औंल्याएका छन्।
संविधान दिवस अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताएका हुन्।
उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई आह्वान गरेका छन्। भदौ २३ र २४ गतेका घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग उनले माग गरेका छन्।
संविधान लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धिः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन्।
संविधान दिवस अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन्।
सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताएका छन्। यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ।
संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ।
उनले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, संघर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेको सन्देशमा उल्लेख छ।
सत्ता सञ्चालनका क्रममा भएकाे गल्तीप्रति क्षमायाचनाः एमाले उपाध्य पाैडेल
यस्तै, एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भुलप्रति क्षमायाचना गरेका छन्।
संविधान दिवस अवसरमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन्।
उनले संविधानले परिकल्पना गरेको समावेशी प्रजातन्त्रसहितको गणतन्त्रलाई थप उन्नत बनाउन राजनीतिक, आर्थिकलगायत सबै क्षेत्रबाट पहल हुनुपर्ने आश्वयकता औंल्याए।
प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्नेजस्ता महत्त्वपूर्ण अभिभारा पूरा हुन सकून् भन्ने अपेक्षा उनले व्यक्त गरेका छन्।