काठमाडाैं। खेतबारीमा फल्ने अन्न, गेडागुडी र फलफूल उपभोक्ताको भान्सासम्म पुग्दा धेरैजसोले आफ्नो असली मूल्य गुमाउँछन्। खेतमा पसिना बगाउने किसानले पाउने रकम न्यून हुन्छ, तर बजारमा उपभोक्ताले तिरेको मूल्य चुलिन्छ।
बीचमा न गुणस्तरको ग्यारेन्टी हुन्छ, न त प्याकेजिङ। तिनै अभाव छिचोल्दै किसानबाट उत्पादित वस्तुलाई स्वदेश एवं विदेशी बजारसम्म पुर्याउने अठोट लिएर विगत दुई वर्षदेखि पहाडी ब्रान्डले काम गरिरहेको छ।
पाँच साथी, एउटै सपना
प्रशान्त घिमिरे, कामना आचार्य, अमृत थापा, रविन शर्मा र सञ्जय काफ्ले पहाडीका संस्थापक हुन्। उनीहरू विभिन्न कम्पनीमा आबद्ध थिए। विभिन्न क्षेत्रमा काम गरिरहँदा निस्किएको फुर्सद समय गरिने चिया गफ नै किसानबाट उत्पादित वस्तुलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरेर विश्व बजारमा पुर्याउने भन्ने हुन्थ्यो। तर, तीमध्ये कसैले पनि जागिर छाडेर काम सुरु गरिहाल्ने आँट गरिरहेका थिएनन। त्यत्तिकैमा प्रशान्तले हाइलाइफ छाडे र चार जना साथीलाई जम्मा गरेर नयाँ मिसन थालनीको निधो गरे। त्यसको नाम जुराए, पहाडी।
‘हामीसँग पुँजी थिएन तर सपना थियो,’ प्रशान्तले भने, ‘साथीहरूसँग सहकार्य गरियो र काम थालियो। अहिले पहाडी तेस्रो वर्षमा पुग्ने तयारीमा छ।’ घिमिरे हाइलाइफमै हुँदा केही नयाँ काम गर्नुपर्छ भन्ने सोच र अठोट लिएर आफ्ना साथीसँग छलफल गरिरहेका हुन्थे। आफ्नै नयाँ ब्रान्डमा किसानबाट उत्पादित वस्तुलाई बजारसम्म कसरी लैजान सकिन्छ र तिनलाई उचित मूल्य दिलाउन सकिन्छ भनेर बारम्बार छलफल गरिरहेका हुन्थे।

उनीहरूले पाँचै जना मिल्ने साथीको साइनोलाई व्यावसायिक साझेदारको रूपमा अगाडि बढाउने निधो गरे। त्यसपछि खुल्यो–पहाडी। नाम पहाडी भए पनि यसमा हिमाल, पहाड र तराईमा उत्पादित हरेक सामान पाउन सकिन्छ। किसानको उत्पादन बजारसम्म ल्याउने र जहाँ–जहाँ नेपालीको बसोबास छ, ती मुलुकमा समेत पु¥याउने सोच राखेर बजार बुझ्न सुरुआतमै जापान यात्रामा निस्कियो पहाडी।
पाँच साथीले विदेश बस्ने नेपालीलाई आफ्नै स्वादको उत्पादन चाहिएको रहेछ भन्ने बुझे। त्यसपछि दाल, चामल, चिउरा, अचार, स्न्याक्सदेखि महसम्म उत्पादन सुरु गरे। पहिलो वर्षमै ६०/७० प्रकारका वस्तु बजारमा ल्याउन सफल भए। पहाडीको उत्पादन भाटभटेनी, सेल्सबेरीजस्ता सुपरमार्केटसहित अस्ट्रेलिया, अमेरिका, जापान, हङकङलगायत मुलुकमा निर्यात भइरहेको छ।
‘स्थानीय उत्पादनमा धेरै सम्भावना छ तर, त्यसको व्यवस्थित मार्केटिङ र ब्रान्डिङ नभएकै कारण मूल्यांकन भएजस्तो भएन भन्ने कुरा हामीले देख्दै र सुन्दै आएका थियौं’, अध्यक्ष घिमिरेले भने, ‘गाउँबाट हजुरआमाले तोरी तेल निकालेर पठाइदिनुहुन्थ्यो तर, त्यो ब्रान्डको रूपमा देशव्यापी वितरण भएको थिएन।’
विदेशमा रहेकाले स्वदेशी उत्पादनलाई धेरै माया गर्ने अनुभव उनले हाइलाइफबाट पनि बटुलिसकेका थिए। त्यसैले पहाडीले सुरुमा चिउरा प्याकेजिङ गरेर बिक्री थालेका थिए। ‘हामीले अध्ययन गर्दा अचार, गेडागुडीमा पनि सम्भावना देख्यौं। बजारमा उपलब्ध प्याकेट अचार प्रायः भारतकै थिए। नेपाली स्वादका अचार माग धेरै भए पनि आपूर्ति कम थियो’, अध्यक्ष घिमिरेले भने, ‘गेडागुडीमा पनि विदेशी उत्पादन व्यवस्थित तरिकाले आउँथ्यो। तर, नेपाली उत्पादन खासै प्रयोगमा आउँदैनथ्यो।’

किसानसँगको हातेमालो
‘पहाडी’को असली शक्ति बजार मात्र होइन, किसानसँगको हातेमालोमै छ। विश्व बजारमा जति माग आए पनि उत्पादनकर्ता किसान नै हुन्। त्यसैले पहाडीले किसानलाई प्राथमिकतामा राखेर सहकार्य गरिरहेको छ। किसान उत्पादनलाई उचित मूल्य दिने र आवश्यक बिउबिजन पनि उपलब्ध गराउँदै आएको छ।
पोखरा (गण्डकी प्रदेश) मा पाइने जेठो बुढो चामलको मूल बिउ लोप हुने अवस्थामा थियो। यसलाई संरक्षण गर्न, बिउ उत्पादकसँग मिलेर बिउ पुनरुत्पादन गरियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा पर्वतमा धान जोन स्थापना गरियो। यो परियोजनाअन्तर्गत १०–१२ वटा स्थानीय निकाय र कृषक समूहसँग मिलेर धान खरिद व्यवस्था मिलाइएको छ। जेठो बुढो चामल बचाउने अभियानमा अहिले पहाडी लागेको छ।
पोखरामा पाइने पुरानो जातको चामल जेठो बुढो लोपोन्मुख हुँदै थियो। लोपोन्मुख चामल संरक्षण गर्न किसानलाई प्रोत्साहन गर्दै पहाडीले राम्रो मूल्य दिँदै आएको छ। पहाडीले लिनुअघि पहाडी धान प्रतिमुरी ४ हजार ५०० रुपैयाँ पाउने गरेकामा हाल ६ हजार दिइँदै आएको छ। ‘आफ्नो उत्पादनले राम्रो मूल्य पाउन थालेपछि किसान उत्साहित भएर उत्पादन गर्न थालेका छन्,’ अध्यक्ष घिमिरेले भने, ‘हामी व्यापार मात्र हेर्देनौं, किसानलाई प्रोत्साहन पनि गर्छौं।’
आफ्नै नयाँ ब्रान्डमा किसानबाट उत्पादित वस्तुलाई बजारसम्म कसरी लैजान सकिन्छ र तिनलाई उचित मूल्य दिलाउन सकिन्छ भनेर बारम्बार छलफल गरिरहेका हुन्थे।
त्यो निर्णयले किसानलाई प्रोत्साहन मात्र दिएन, एकैसाथ पुरानो जात जोगियो र बजारमा प्रिमियम ब्रान्ड जन्मियो। जुम्लामा पनि गेडागुडी दाल र कोदो उत्पादन र प्रवद्र्धनका लागि साझेदारी गरिएको छ। त्यहाँ स्थानीय तहको समन्वयमा किसानसँग जोडिएर पहाडीले काम गरिरहेको छ। प्रोत्साहन नै कम भएर किसानले आफैंले खान मात्र उत्पादन गर्दै आएकामा पहाडीको प्रवेशपछि व्यावसायिक रूपमै उत्पादन सुरु गरेका छन्।
‘हामीले बजारमा टिक्न ‘स्टक होल्ड’ गर्ने रणनीति अपनाएर मूल्य निर्धारण गरेका हौं,’ अध्यक्ष घिमिरेले भने, ‘सोही कारण मूल उत्पादन हामीसँग मात्र हुने हँुदा मूल्य राखेर बेच्न पाइने अवस्था सिर्जना भयो। यसबाट किसान र व्यवसायी दुवैलाई लाभ मिल्छ।’
जुम्लाको गेडागुडी, कोदो, रुकुमको अर्गानिक मह सबै किसानसँग प्रत्यक्ष सहकार्य गरेर पहाडीले बजारमा ल्याइरहेको छ। किसानसँग सीधा सम्पर्कमा रहेर ‘पहाडी’ले व्यवसायलाई सामाजिक अर्थतन्त्रसँग जोड्ने काम गरिरहेको छ।

प्याकेजिङ र गुणस्तर क्रान्ति
नेपालमा उत्पादन त हुन्छ, तर प्याकेजिङ अभाव छ। किसानले तोरीको तेल ल्याउँछन्, तर बजारमा थोरै मात्र बोतलमा पाइन्छ। उपभोक्ताले गुणस्तरबारे शंका गर्छन्। पहाडीले यो समस्यालाई पनि सुन्दर प्याकेज, आकर्षक डिजाइन र प्रयोगकर्ताले विश्वास गर्ने ब्रान्ड नाम दिएर सम्बोधन गरेको छ। पहाडीले बिक्री गर्ने उत्पादनमा कहिल्यै गुणस्तरमा सम्झौता नहुने दाबी घिमिरे गर्छन्।
उपभोक्तालाई सामान गुणस्तरीय छ भन्ने विश्वास दिलाउन विभिन्न चेतनामूलक सन्देश भरिएको भिडियो पनि सार्वजनिक गरिँदै आएको उनी बताउँछन्। यस्तै, पहाडीले बेच्दै आएमध्येको जेठो बुढो चामलमा प्रोटिन परीक्षण, अचार, दाल, स्न्याक्समा इनहाउस ल्याब कन्ट्रोल गर्दै आएको छ। ‘हामी सस्तो प्रतिस्पर्धामा जाने छैनौं। उपभोक्ताले स्वास्थ्यप्रद, भरपर्दो उत्पादन पाउनुपर्छ,’ अध्यक्ष घिमिरे भन्छन्।
दौडिँदै व्यापार
थोरै लगानीबाट व्यवसाय सुरु गरेको पहाडीले सुरुआती वर्षमै ४ करोडको कारोबार गर्न सफल भएको छ। सोचलाई उद्योगमा बदल्न सके नेपालमै राम्रो गर्न सकिन्छ भन्ने उदाहरण पहाडीले देखाएको छ।
पहाडीले दोस्रो वर्षमै ११ करोडको कारोबार गरेको छ। यसलाई अझै अघि बढाउँदै लैजाने योजना उनीहरूको छ। अहिले ‘पहाडी’को उत्पादन मुलुकभरका ५ हजार ५०० बढी किराना पसलमा पुगिसकेको छ। यसरी सहरका सुपरमार्केटदेखि गाउँका खुद्रापसलसम्म पहाडीले उपस्थिति बढाइसकेको छ।
भाटभटेनीको बलियो साथ
सामान ब्रान्डिङ र प्याकेजिङ मात्र गरेर हुँदैन थियो। बजारका लागि पहाडीलाई गतिलो आधार र बजार चाहिएको थियो। देशभर चेनमार्केटका रुपमा नाम कमाउँदै गएको भाटभटेनी सुपरमार्केट पहाडीको टेको बन्यो। पहाडीका सञ्चाकले किसानबाट उत्पादित चीजलाई भाटभटेनीमा कसरी राख्ने भन्ने विषयमा मीनबहादुर गुुरुङसँग भेटे। गुरुङले पहाडीका उत्पादन स्टोरमा राख्ने प्रतिबद्धता जनाए।
‘हामीले भाटभटेनीले दिएको साथलाई कहिल्यै बिर्सन सक्दैनौं,’ अध्यक्ष घिमिरेले भने, ‘गाउँमा उत्पादित वस्तु देशभरका मुख्य सहरमा फैलिएको भाटभटेनीमा पु¥याउनु हाम्रो सबैभन्दा ठूलो सफलता हो।’ स्थानीय स्वाद चाख्न खोज्नेहरू अहिले भाटभटेनीमा गएर पहाडी ब्रान्डलाई रोजेको देख्दा खुसी लाग्ने गरेको उनको भनाइ छ। ‘हामीले सुरु गरेको ब्रान्डिङ र प्याकेजिङलाई भाटभटेनीले साथ दिएर थप काम गर्न हौसाएको छ। ‘यो हाम्रा लागि बजार विस्तारको ठूलो माध्यम बनेको छ।’

बढ्दै छ टिम
व्यवसायमा रफ्तार बढ्दै जाँदा पहाडीले आफ्नो टिमलाई पनि विस्तार गर्दै लगिरहेको छ। अहिले पहाडीको सेयर होल्डर ३० जना पुगिसकेका छन्। हरेक क्षेत्रमा विज्ञता हासिल गरेकालाई सेयर दिँदै सबैसँग हातेमालो गरेर अघि बढिरहेको बताउँछन्, प्रशान्त। ‘हाम्रोमा ऋण छैन। इक्विटीमै लगानीकर्ता थप्दै गएका छौं। यो एकल नेतृत्वमा गर्ने खाले काम पनि रहेनछ। यसमा धेरै लगानी चाहिने हुन्छ,’ अध्यक्ष घिमिरेले भने ‘अहिले हामी २०० भन्दा बढी सामानमा काम गर्छौं। पहाडी ब्रान्डसँगै हामीले अन्य चार÷पाँच वटा ब्रान्डका लागि पनि काम गरिरहेका छौं।’
अहिले पहाडीसँग ८० बढी जनशक्तिले काम गरिरहेको छ। पहाडीले आफ्नो उद्योग रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना गरेको छ। त्यहीँबाट प्याकेजिङ प्रोसेसिङ गर्दै आएको छ। चामल उत्पादनको पनि आफ्नै मिल छ। दाल गेडागुडी हलिङ गर्ने र च्याख्ला बनाउन पनि आफ्नै प्लान्ट छ।
अर्गानिक सर्टिफाइड छैन
गाउँघरमा उत्पादित कृषि उपजलाई बजार पहुँच दिलाए पनि अर्गानिक सर्टिफाइड भने नगरिएको घिमिरे बताउँछन्। ‘अहिले पूर्वी रुकुमको एउटा पालिकाले नै चलाएको सहकारीले अर्गानिक तरकारी उत्पादन गरेको थाहा पाएपछि समन्वयको काम गरिरहेका छौं,’ अध्यक्ष घिमिरेले भने, ‘त्यहाँको उत्पादन ल्याउन सके अर्गानिक भन्न सक्छौं।’
अहिले कतिपय उत्पादन अर्गानिकै भए पनि सर्टिफिकेसन छैनन्। न्यून प्रशोधन गरिएको हो। जस्तो, स्टिम र धेरै पोलिसिङ नगरेको चामल हो। यसमा फाइबरका कन्टेन्ट धेरै हुने भए पनि ‘लाइफ’ थोरै हुन्छ। पोलिसिङ र स्टिम मिलबाट बनाइसकेपछि त्यसमा नुट्रिसन तत्त्व धेरै हुँदा यसको स्वाद एकदमै राम्रो निस्कन्छ। हेर्दा राम्रो नभए पनि स्वादिष्ट हुन्छ। यो कुरा अहिले उपभोक्ताले बुझ्न थालेको अध्यक्ष घिमिरेको तर्क छ। पहिला टिलिक्क टल्केका सबै एकैनासे दाना देखिने दाल मन पराउने गरे पनि अहिले ठूलो परिमाणमा ‘नन पोलिस’ दाल खोज्ने उपभोक्ता संख्या बढेको उनी बताउँछन्।
जुम्लाको गेडागुडी, कोदो, रुकुमको अर्गानिक मह सबै किसानसँग प्रत्यक्ष सहकार्य गरेर पहाडीले बजारमा ल्याइरहेको छ। किसानसँग सीधा सम्पर्कमा रहेर ‘पहाडी’ले व्यवसायलाई सामाजिक अर्थतन्त्रसँग जोड्ने काम गरिरहेको छ।
कोभिडपछि स्वास्थ्यलाई लिएर सबै सचेत हुन थालेका छन्। महमा पनि यस्ता समस्या हुँदा ढुक्कसँग खान नसक्ने अवस्था थियो। नाम चलेका ब्रान्डले मिसावट गरेका धेरै विषय बाहिरिएका थिए। ‘हामीले महमा काम सुरु ग¥यौं। ‘राम्रो मह जम्छ। घरमै पनि धेरै तातोमा राखियो भने नजम्ने हुन्छ तर, त्यो बिख हुन्छ’, सञ्चालकमध्येकी कामनाले भनिन्, ‘अब महमा समस्या भनेको जम्ने भएकाले यसलाई धेरै तातोमा प्रशोधन गर्नै हुन्न। हेर्दा नजमेको भएर राम्रो देखिन्छ तर त्यो खानै नहुने हो।’ धेरै तातोमा प्रशोधन गरिँदा महको एचएमएफ कन्टेन्ट बढ्छ। अहिले चिनी हालेर जमाइने गरेको भन्ने कुरा पनि आउँछन् तर, त्यसरी जमाइँदा क्यान्डीजस्तो हुन्छ।
‘यसमा हामीले प्रचार गरिरहेका छौ। अहिले किसान समूह, कतिपय जिल्लाका कृषि तथा पशुपक्षी कार्यालयले पनि आधिकारिक विज्ञप्ति जारी गरेका छन् मह जम्छ भनेर। ठूला–ठूला ब्रान्डले प्रचार त्यही हिसाबले गरे,’ कामनाले भनिन् ‘हामीसँग भएको मुख्य उत्पादन बिक्रीका आधारमा धेरै बेचिने गेडागुडी र चामल हो। स्थानीय उत्पादन हामीसँग धेरै छ। कुनै सिजनल हुन्छ। कुनै वर्षभरि नै गर्न सकिन्छ। अचारमा पनि टुसाको अचार र न्युरोको अचार सिजनल हुन्छ।’
को हुन् प्रशान्त
प्रशान्तको पारिवारिक पृष्ठभूमि व्यावसायिक नै हो। उनका हजुरबा र बुबा व्यवसायमै आबद्ध छन्। सोही कारण उनलाई नयाँ उद्यममा प्रोत्साहन र हौसला मिल्यो भन्दा फरक पर्दैन। बुटवलका प्रशान्त २०१९ देखि हाइलाइफमा जोडिएका थिए। हाइलाइफमा उनको पारिवारिक सदस्यको लगानी छ।
व्यवसाय उत्पादनमूलक भए पनि उनको अध्ययन भने कम्प्युटरसम्बन्धी हो। सोही कारण प्रविधि प्रयोग गरेर कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने ज्ञान उनलाई राम्रोसँग छ। प्रशान्तले आफ्नो व्यवसायमा आवश्यक सबै सफ्टवेयर आफैंले तयार पारेका हुन्।