काठमाडौं। मंगलम इन्डस्ट्रिजले एक वर्षमै १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। नेपालको पोलिमर पाइप्स र फिटिंग्स उत्पादनमा स्थापित मंगलम इन्डस्ट्रिज सन् २०२५ मा १ अर्ब ८ करोड ४० लाख बराबरको आम्दानी गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले सार्वजनिक गरेको कम्पनीको रिपोर्टअनुसार पछिल्ला वर्षमा कम्पनीको व्यापार स्थिर देखिएको छ। कम्पनीले सन् २०२४ मा १ अर्ब ८ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
यस्तै, सन् २०२२ मा कम्पनीको आम्दानी १ अर्ब १४ करोड ३० लाख र सन् २०२१ मा १ अर्ब १० लाख रुपैयाँको व्यापार गरेको थियो। विगत दुई वर्षको तथ्यांक हेर्दा कम्पनीको आम्दानी वार्षिक औषत वृद्धिदर करिब ४ प्रतिशत देखिएको छ।
सन् २००९ मा मंगलम इन्डस्ट्रिज प्रालिको रूपमा स्थापना भई सन् २०२३ जुन २६ मा पब्लिक लिमिटेडमा परिणत यो कम्पनीमा मुख्य सेयरधनी शशि चुरिवालको ५१.३५ प्रतिशत, अवसर इक्विटी डाइभर्सिफाइड फन्डको २८.५७ प्रतिशत र साइनी खेतानको १९.९६ प्रतिशत सेयर स्वामित्व छ। १७ वर्षभन्दा लामो अनुभव भएकी शशि चुरिवालले कम्पनीको बोर्डको नेतृत्व गरिरहेकी छन्।
कम्पनीले रुपन्देहीको धकधईमा अवस्थित कारखानाबाट सीपीभीसी, एचडीपीई, पीभीसी पाइप र फिटिंग्सका साथै खानेपानी ट्यांकी उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ७ हजार ९ सय ६२ मेट्रिक टन छ। मंगलम’ ब्रान्ड नाममा उत्पादित सामग्री देशभरका डिलरमार्फत बिक्री भइरहेका छन्।
कम्पनीले बैंकिङ सुविधा र कर्जा प्रयोजनका लागि रेटिङ गराएको छ। इन्फोमेरिक्स नेपालले मंगलम इन्डस्ट्रिजको कुल १ अर्ब १४ करोड ४९ लाख रुपैयाँको बैंकिङ सुविधाका लागि रेटिङ प्रदान गरेको हो। ५२ करोड ४९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘डबल बी प्लस’ र ६२ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फोर प्लस’ रेटिङ असाइन गरेको छ।
कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याउन निजी इक्विटी लगानीकर्तामार्फत भएको पुँजी वृद्धिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सन् २०२५ मा इक्विटी इन्फ्युजनपछि कम्पनीको नेटवर्थ ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसका कारण गियरिङ रेसियो सन् २०२३ को २.६६ गुणाबाट सुधार भएर सन् २०२५ मा १.०५ गुणामा झरेको छ।
रेटिङ रिपोर्टका अनुसार कम्पनीले भारततर्फ निर्यात बढाउने रणनीति लिएको छ। यसअन्तर्गत सन् २०२६ का लागि करिब १ हजार ८ सय मेट्रिक टन निर्यात गर्ने सम्झौता गरिसकेको छ।
यद्यपि, नाफाको मार्जिनमा केही गिरावट आएको छ। सन् २०२३ मा २०.१४ प्रतिशत रहेको इबीआईटीडीए मार्जिन सन् २०२५ मा घटेर १२.५५ प्रतिशतमा खुम्चिएको छ। उच्च व्यावसायिक प्रवर्द्धन खर्च र प्रतिस्पर्धाका कारण नाफामा दबाब परेको हो।
कम्पनीसामु केही चुनौती पनि छन्। कच्चा पदार्थ आयातमा ९८ प्रतिशत निर्भरता रहेको उद्योगमा मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दरमा हुने फेरबदलले नाफामा असर पार्ने जोखिम छ। साथै, कम्पनीको कार्यशील पुँजीको चक्र २ सय ९७ दिन पुगेको छ, जसले नगद प्रवाहमा दबाब सिर्जना गर्न सक्ने देखिन्छ।
निर्माण क्षेत्रमा आएको सुस्तता र उद्योगमा रहेको तीव्र प्रतिस्पर्धालाई कम्पनीले कसरी सामना गर्छ भन्ने कुरा नै भविष्यको मुख्य सूचक हुने रिपोर्टमा उल्लेख छ।