काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय गर्यो। उखु उद्योगीहरुको लामो प्रयासपछि अन्ततः सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत गरेको हो।
‘उद्योग मन्त्रीहरुले इथानोल मिश्रण गर्ने प्रस्ताव स्वीकृत गर्ने आश्वासन दिएको करिब २० वर्ष अर्थात दुई दशकपछि सोमबार सरकारी स्तरबाट निर्णय भएको छ,’ एक चिनी उद्योगीले भने, ‘अब कार्यविधि बन्न कति समय लाग्ने हो?’ छिमेकी मुलुक भारतसहित विश्वका अधिकांश मुलुकमा पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याइरहेको बेला नेपालले पहिलो पटक यस्तो निर्णय गरेको हो।
उद्योग मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र सुवेदीले मन्त्रिपरिषद्को निर्णयपछि अब नेपाल आयल निगमले आवश्यक कार्यविधि बनाउने जानकारी दिए। ‘मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण भएर आएपछि कार्यन्वयनका लागि आवश्यक बाटो खुल्ने छ,’ प्रवक्ता सुवेदीले भने, ‘पूर्ण पाठ आएपछि मात्र थप जानकारी आउने छ।’
आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि मन्त्रिपरिषद्को निर्णयको पूर्ण पाठ आउन बाँकी रहेको जानकारी थिए। ‘विस्तृत जानकारी आउन बाँकी छ,’ प्रवक्ता ठाकुरले भने, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने हाम्रो दायित्व हो। तर, निर्णयको पूर्ण जानकारी हेर्न बाँकी छ।’
दुई प्रतिशत इथानोल प्रयोग
एक चिनी उद्योगीका अनुसार विदेशमा १५ प्रतिशतसम्म इथानोल प्रयोगमा ल्याउने गरिए पनि नेपालमा दुई प्रतिशतमात्र सम्भावना रहेको छ।
चिनी उद्योगको संख्या कम रहेकाले हालको अवस्थामा दुई प्रतिशत इथानोल उत्पादन गर्न सक्ने क्षमता मात्र उद्योगमा रहेको छ।
कसरी हुन्छ उत्पादन?
हाल नेपालमा चिनी उद्योगीहरूले इथानोल उत्पादन गरिरहेका छन्। उनीहरूले मोलासिस (खुदो)लाई प्रशोधन गरेर इथानोल बनाउँछन। उक्त इथानोल बंगलादेश निर्यात हुन्छ।
पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने वार्षिक करिब साढे १२ अर्ब रूपैयाँ मूल्य बराबरको पेट्रोल आयात घटाउन सकिने अध्ययनले देखाएको छ।
त्यसका लागि चिनी उद्योगबाटै पनि इथानोल उत्पादन गर्न सकिन्छ भने कसैले छुट्टै उद्योगसमेत सञ्चालन गर्न सक्ने बाटो खुलेको ती उद्योगीको भनाइ छ। तर, निर्णय गर्ननै २० औँ वर्ष लागिरहेको अवस्थामा कार्यविधि बनाउन कति समय लाग्छ, भन्ने पहिलो विषय भएको ती उद्योगीको भनाइ छ।
इथानोलले सवारी साधनको इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ। यो उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ।
२०६० सालमै पेट्रोलमा इथानोल मिसाउने योजना सरकारले बनाएको थियो। पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने वार्षिक करिब साढे १२ अर्ब रूपैयाँ मूल्य बराबरको पेट्रोल आयात घटाउन सकिने अध्ययनले देखाएको छ। आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ।
नेपालमा दैनिक करिब ४० लाख लिटर पेट्रोल खपत हुन्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ। यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ।
यसबाट इन्जिन बलियो बनाउनेदेखि माइलेज पनि राम्रो दिने बताइएको छ।
निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ।
सवारी साधानलाई कसरी हुन्छ फाइदा?
इथानोल मिश्रण गरिएको पेट्रोलियम पदार्थ प्रयोग गर्दा सवारी साधानलाई बढी मात्रामा फाइदा हुने जनाइएको छ। विदेशमा इथानोल प्रयोग अनिवार्य जस्तै बनाइएको छ। यसबाट इन्जिन बलियो बनाउनेदेखि माइलेज पनि राम्रो दिने बताइएको छ।
निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको असर न्यूनीकरण गर्न तथा वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले पेट्रोलमा इथानोल मिश्रण प्रक्रिया अघि बढाएको निगमका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टले जानकारी दिए। ‘यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार हामी पनि अघि बढेका हौँ,’ उनले भने।
उनका अनुसार आफै तेल उत्पादन गर्ने देशले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्। भारत, ब्राजिललगायतका देशले पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्।
निगमले इथानोल किन्ने भएपछि बाहिर निर्यात नगर्ने उद्योगीहरूले प्रतिबद्धता व्यक्त गरेको भट्टले जानकारी दिए। उद्योगीले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गर्दै आएका छन्। निगमलाई ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ।
उद्योगीबाट लिएको इथानोललाई पनि निगमले थप प्रशोधन गरेर पेट्रोलमा मिसाउने छ। त्यसपछि इथानोल मिसाएको पेट्रोल निर्धक्क भएर उपभोक्ताले प्रयोग गर्न सक्ने उनले बताएका छन्।