काठमाडौं। नेपालमा माटोसँगै खेलेर कृषि उत्पादनमा रमाइरहेका नेपाली किसानको संख्या ७० प्रतिशत बढी रहेको सरकारी तथ्यांक छ। यद्यपि कृषि उत्पादनलाई राज्यले बजार नखोजिदिँदा किसानले भनेजति र सोचेजति आम्दानी लिन पाएका छैनन्।
किसानलाई बर्खे र हिउँदेबालीका लागि आवश्यक मल, बिउबिजनको समस्या उत्तिकै छ। किसानले राज्यबाट पाउने सुविधासमेत नगन्य छ। तर, विश्वमा चलिरहेका प्रविधिसँग भने नेपाली किसानको पहुँच पुग्न थालेको छ।
किसानलाई उत्पादनदेखि बजारभाउ, मलबिउलगायत समस्या समाधान गरिदिन विभिन्न एप विकसित भइरहेका छन्। दसैं अवसरमा सुपर कृषक एपले किसानका लागि ‘कृषि इन्टेलिजेन्स’ नामक नयाँ एआई सुविधा सार्वजनिक गरेको छ। यसमा किसान आफैं कृषिविज्ञ र स्मार्ट बन्ने सुविधा राखिएका छन्।
किसानलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले सुपर कृषक एपले आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक कृत्रिम बौद्धिकता आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ। यो सुविधाले किसानले सामना गरिरहेका कृषि परामर्श सम्बन्धी चुनौतीलाई सहज बनाउँदै उनीहरूलाई तत्काल र भरपर्दो जानकारीमा पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपाली किसानले परम्परागत रूपमा बालीनालीमा देखिने समस्या, मौसमको जानकारी, वा बजार मूल्य जस्ता विषयमा परामर्श लिन कृषि कार्यालय वा प्राविधिक विज्ञमा निर्भर रहनुपर्ने अवस्था थियो। समयमा सही जानकारी पाउन कठिन हुँदा यसले किसानको निर्णय प्रक्रिया र उत्पादकत्वमा असर पार्दै आएको थियो। विगतमा ‘जेटियो कहाँ गयो त्यहीँ भेटियो’ भन्ने भनाइले किसान र प्राविधिकको निकटतालाई जनाए पनि अहिले कृषि प्राविधिक किसानको खेतमा बिरलै भेटिन्छन्।
वर्तमान समयमा सूचना प्रविधिको विकासको प्रयोग गरी परामर्शको पहुँचलाई अझ सहज र व्यापक बनाउन सुपर कृषकले यो नयाँ सुविधा किसानको समस्या समाधानका लागि ल्याएको हो। ‘कृषि इन्टेलिजेन्स’ सुपर कृषक एपभित्र रहेको एक च्याट–आधारित प्रणाली हो, जहाँ किसानले आफ्नो कृषिसम्बन्धी कुनै पनि प्रश्न सरल नेपाली वा अन्य भाषामा सोध्न सक्छन्। यस प्रणालीले किसानका प्रश्नलाई तत्काल विश्लेषण गरी सटिक जानकारी र सल्लाह दिनेछः
● बालीमा लाग्ने रोग तथा किराको पहिचान र व्यवस्थापन विधि
● मौसमको वर्तमान अवस्था र आगामी दिनको पूर्वानुमान र कृषि गतिविधिको कार्यतालिका
● स्थानीय तथा प्रमुख बजारहरूमा कृषि उपजको दैनिक मूल्य
● बालीको उत्पादन लागत विश्लेषण र बजारीकरणका लागि उपयुक्त समयबारे परामर्श
● खेती प्रणाली र आधुनिक कृषि अभ्यासहरू बारे जानकारी
● आवश्यक मल, जलको मात्रा र समय बारे जानकारी।
अझ प्रभावकारी र व्यक्तिगत परामर्शका लागि, प्रयोगकर्ताले एपको ‘कृषि चिना’मा आफ्नो जग्गाको विवरण, लगाएको बाली र मिति अद्यावधिक गर्न सक्नेछन्, जसले गर्दा एआई प्रणालीले उनीहरूको अवस्था अनुसार विशेष सल्लाह उपलब्ध गराउन सक्छ।
सुपर कृषक एपको लक्ष्य प्रविधिको उपयोग गरी किसानहरूलाई सही समयमा सही जानकारी उपलब्ध गराएर किसानको निर्णय प्रक्रियालाई सुदृढ पार्नु रहेको छ। ‘कृषि इन्टेलिजेन्स’ ले किसान र कृषिविज्ञबीचको सूचनाको दूरीलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले किसानलाई आत्मनिर्भर बनाउन र कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन मद्दत पुर्याउनेछ। नयाँ सुविधा सुपर कृषक एपको पछिल्लो संस्करणमा उपलब्ध हुनेछ भने सबै प्रयोगकर्ताले एप अपडेट गरी यसको लाभ लिन सक्नेछन्।