नेपालमा वार्षिक साढे ८ हजार टन अलैंची उत्पादन हुने गरेको छ। तर, कतिपय वर्षमा निर्यात उत्पादनभन्दा बढी देखिने गरेको छ। नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो।
नेपालमा उत्पादन हुने अलैंचीभन्दा निर्यात परिमाण बढी देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्षमा २०७९/८० मा ८ हजार ६ सय टन अलैंची उत्पादन भएको थियो। तर, यही वर्ष भन्सार विभागले ९ हजार ९ सय टन अलैंची निर्यात भएको उल्लेख गरेको छ।
नेपालमा उत्पादितभन्दा १ हजार ३ सय टन बढी टन अलैंची निर्यात भएको तथ्यांक छ। यसो हुनुमा उत्पादन भएको अलैंचीमा मूल्य गिरावट आउँदा अर्को वर्षमा बेच्न ‘होल्ड’ गरिराख्दा उत्पादनभन्दा बढी निर्यात देखिएको नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई बताउँछन्।
उत्पादनमा कमी नभएको तर अघिल्लो वर्षको स्टकले गर्दा निर्यात बढी देखिएको हो। व्यापारी र किसानले जब बजारमा अलैंचीको भाउ घट्छ, तब उनीहरूले त्यसलाई तत्काल बिक्री नगरी भण्डारण गर्छन्। त्यसरी रोकिएको अलैंची अर्को आर्थिक वर्षमा निर्यात हुने हुँदा तथ्यांकमा केही फरक देखिनु स्वाभाविकै हो।

नेपालमा उत्पादन हुने ९० प्रतिशत अलैंची भारतीय बजारमा खपत हुने दाबी भट्टराईको छ। नेपालमा उत्पादन हुने अलैंचीको सबैभन्दा ठूलो बजार भारत हो। तेस्रो मुलुकमा अलैंची कमै मात्रमा निर्यात भएको छ।
‘अलैंची निर्यातको ९० प्रतिशत बढी बजार भारत हो,’ उनले भने, ‘बाँकी १० प्रतिशत अन्य मुलुक हुन्। भारतमा अलैंची खपत हुनुको कारण पनि मसलाका ठूलाठूला उद्योग छन्। ती कम्पनी र भारतमा बसोबास गर्ने मुस्लिम समुदायले पनि बढी मात्रामा अलैंची प्रयोग गर्छन्।’
९ अर्ब रुपैयाँको कारोबार
नेपालबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ बराबरको अलैंची कारोबार हुन्छ। यो रकम वैदेशिक मुद्राको मात्रै कारोबार हो। पछिल्लो पटक पनि लगभग साढे ७ अर्ब रुपैयाँको अलैंचीको कारोबार भएको थियो। उत्पादन घटेपनि मूल्य बढेका कारणले गर्दा कारोबार रकम खासै कम नदेखिएको भट्टराईको तर्क छ।
‘अर्थशास्त्रको नियमअनुसार उत्पादन घट्दा, मूल्य बढ्छ हुँदा सोहीअनुसार अलैंची उत्पादन कम भए पनि रकम खासै घटेको छैन,’ उनले भने। विगतका वर्षमा प्रतिकेजी अलैंची १२ सयदेखि १५ सय प्रतिकेजी थियो भने यो वर्ष र गत वर्ष लगभग २५ सय रुपैयाँ प्रतिकेजी छ। उत्पादन घटेपनि निर्यात रकममा खासै असर नपरेको उनी बताउँछन्।

मुख्य सिजन असोज, कात्तिक र मंसिर
नेपालमा उत्पादन हुने अलैंचीको मुख्य कारोबार तीन महिना हुने गरेको छ। अलैंचीको मुख्य सिजन असोज, कात्तिक र मंसिर महिना हो। यो समय नयाँ उत्पादन बजारमा आउनुका साथै व्यापारी पनि सक्रिय हुने गर्छन्।
यसैकारण दसैं र तिहारजस्ता ठूला पर्वमा अलैंची माग अझ बढ्ने गरेको भट्टराई बताउँछन्। ‘नयाँ उत्पादन आउने सिजन भएकाले यो समय गुणस्तर राम्रो हुने र कारोबार पनि अन्य समयको तुलनामा बढी हुन्छ,’ उनले भने। नेपालमा ५२÷ ५३ जिल्लामा अलैंची खेती हुन्छ। व्यावसायिक खेती भने ४३ जिल्लामा भइरहेको महासंघले जनाएको छ।
नेपाली बजारमा अहिले अलैंची कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। दसैं–तिहार अवसर पारेर अलैंची सिजन सुरु भएकाले यसको उत्पादन र व्यापार दुवैमा सक्रियता बढेको छ। यस वर्ष किसानले गत वर्षको तुलनामा राम्रो मूल्य पाउने आशा गरेका छन् भने व्यापारी पनि थप उत्साहित छन्।