काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ। नयाँ प्रावधानअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेले निश्चित न्यूनतम तलबमान पूरा गर्नुपर्ने व्यवस्था छ। नयाँ नियममा नातेदारहरूलाई चार तहमा विभाजन गरिएको छ:
पहिलो तह: बुबा, आमा, श्रीमान/श्रीमती र छोराछोरीलाई स्पोन्सर गर्न मासिक न्यूनतम ४ हजार यूएई दिराम तलब आवश्यक पर्नेछ। दोस्रो तह: दाजुभाइ, दिदीबहिनी, हजुरबुबा, हजुरआमा र नातिनातिनालाई भिजिट भिसामा ल्याउन मासिक ८ हजार दिराम तलब चाहिन्छ। तेस्रो तह: काका, काकी, मामा, फुपू र कजिनलाई स्पोन्सर गर्न पनि मासिक ८ हजार दिराम न्यूनतम तलब अनिवार्य छ।
साथीभाइ (गैर-नातेदार): साथीहरूलाई स्पोन्सर गर्न मासिक १५ हजार दिराम तलब हुनुपर्ने व्यवस्था छ।
आवश्यक कागजात र सर्तहरू
भिजिट भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण पेश गर्नुपर्नेछ। साथै, आवेदकसँग कम्तीमा ६ महिना म्याद बाँकी रहेको राहदानी र फिर्ता यात्राको टिकट अनिवार्य छ। यूएईको पहिचान तथा नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा संघीय प्राधिकरण (आईसीपी) ले यो नियम लागू गरेको हो। यसको उद्देश्य पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिहरूलाई यूएईमा आकर्षित गर्ने रहेको आईसीपीले जनाएको छ।
चार प्रकारका विशेष भिजिट भिसा
यूएईले चार नयाँ विशेष भिजिट भिसाको वर्ग पनि तोकेको छ। जसमा कृत्रिम बुद्धिमत्ता (एआई), मनोरञ्जन, विशेष कार्यक्रम र क्रुज जहाजसम्बन्धी भिसा समावेश छन्। मानवीय आधारमा जारी गरिने बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि दिइनेछ। विशेष परिस्थितिमा प्राधिकरणको निर्णयद्वारा यसलाई विस्तार गर्न सकिने व्यवस्था छ।
यस निर्णयले विदेशी विधवा वा सम्बन्धविच्छेद भएका एकल महिलाहरूलाई पनि प्रायोजकविना यूएईमा बसोबास गर्ने अनुमति प्रदान गर्नेछ।
वर्तमान परिस्थितिअनुसार संशोधन
आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा बसोबास र विदेश मामिलामा भइरहेका वर्तमान र भावी प्रवृत्तिहरूको अध्ययन गरेर नयाँ नियम संशोधन गरिएको बताए।उनले यूएईका सञ्चारमाध्यमहरूसँग कुरा गर्दै यी संशोधनहरूले जीवनको गुणस्तर सुधार्न, व्यापार र यातायात बृद्धि गर्न, प्रविधि क्षेत्रलाई समर्थन गर्न र स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा यूएईको प्रतिस्पर्धात्मक क्षमता सुदृढ पार्न योगदान पुर्याउने विश्वास व्यक्त गरे।