काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको ठूलो हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
हालका वर्षमा चीनको पश्चिमी उच्च भूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ। यो वर्षको आठ दिने राष्ट्रिय बिदा अवसरमा हजारौं पर्यटक र बाहिरी खेलप्रेमी यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्ग पुगेका थिए।
तर, तीव्र हिमपातले धेरै शिविर पुरिँदा यात्रु फस्न पुगेका थिए। त्यसपछि उद्धारकर्मीले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठाला सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन्। उद्धार टोलीले लगभग एक दर्जन थप पर्वतारोहीलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्याएका छन्।
सबै सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ। यद्यपि अप्रत्याशित मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ।
छिमेकी किंघाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ।
यसैबीच नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीले जनाएका छन्। उद्धारकर्मीले दुर्गम पहाडी बस्तीमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन्।–एजेन्सी