काठमाडौं। नेपाल र जर्मनीबीच वित्तीय सहयोगसँगै प्राविधिकसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ।
नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौंस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे।
वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिष्ट्रिब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’बाट सहयोग स्वरूप २० मिलियन युरोसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यो परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ।
यसले देशभर भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्ने छ। साथै, परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिने छ। त्यसका लागि प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौतासमेत हुनेछ। सम्झौताको कार्यान्वयन पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने उल्लेख छ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताए। उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको दीर्घकालीन सहकार्य र महत्त्वपूर्ण योगदानप्रति धन्यवाद दिए।
कार्यक्रममा जर्मनका राजदूत उडो भोल्जले नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाली जनतासँगको सहकार्यलाई थप प्रगाढ बनाएको धारणा राखे।