काठमाडौं। विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढ्दा उपभोक्ताको क्रय शक्ति दिनहुँ घट्न थालेको छ। पछिल्लो ४० दिनमै सुनको मूल्य करिब २० प्रतिशत वृद्धि भएर तोलामै २ लाख ३८ हजार पुगेसँगै उपभोक्ताहरुले बजारबाट नयाँ सुन खरिद घटाएका हुन्।
अर्थशास्त्रको माग र आपूर्ति सिद्धान्तअनुसार कुनै पनि वस्तुको मूल्य बढ्नुको मुख्य कारण त्यसको माग बढ्नु हुन्छ। सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहँदा त्यसको माग बढेको हो भन्ने बुझाइ छ। तर, नेपालको सुनचाँदी बजारमा माग नहुँदा पनि मूल्य आकाशिएको सुनचाँदी व्यवसायी बताउँछन्।
नेपालमा चाडपर्व र विवाहको सिजनमा सुनको माग बढी हुन्छ। अहिले चार्डपर्वको समय भए पनि अघिल्ला वर्षहरुको तुलनामा सुनको माग आधाले घटेको तथ्यांकले देखाउँछ। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा प्रतिदिन २० केजी निर्धारण गरेको छ। सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरुले मात्रै आयात गर्न पाउँछन्। अर्थात् बैंकिङ सिस्टमबाट नेपालमा महिनाको ६ सय केजी आयात गर्न मिल्छ।
बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार गत वर्ष र अघिल्लो वर्ष दसैं तिहार तक्षित गरेर वाणिज्य बैंकहरुले असोज कात्तिकमा ६/६ सय केजी सुन आयात गथ्र्यो। बैंकहरुमा यी समयमा सुन स्टकमा रहँदैन थियो। तर, यो वर्षको दसैंका लागि भने २ वटा वाणिज्य बैंकले असोज ७ गतेसम्म एक सय केजी सुन मात्रै आयात गरेका थिए।
वाणिज्य बैंकहरुले पनि व्यवसायीहरुले माग गरेपछि मात्रै सुन आयातको प्रक्रिया गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।
जसमा असोज २२ गतेसम्म पनि ३३.५ केजी सुन बिक्री नभएर स्टकमा छ। तिहार लक्षित गरेर ४ वटा वाणिज्य बैंकले थप सुन मगाएका छन्। जसमा तीन सय १ केजी सुन आइसकेको छ। २ सय केजी सुन आयातको प्रक्रियामा ४ वाणिज्य बैंकहरु छन्।
वाणिज्य बैंकहरुले पनि व्यवसायीहरुले माग गरेपछि मात्रै सुन आयातको प्रक्रिया गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। ‘अहिले बजारमा काँचो सुन खरिद गरेर गहना बनाउने ग्राहक धेरै कम भइसकेका छन्, आवश्यक भए पनि पुरानै सुन कुच्याएर अर्को डिजाइनमा बनाउने वा ग्यारेन्टी सुनले काम चलाउने गर्छन्,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘दसैंअघि नै सुन तोलामा २ लाखमाथि पुग्यो, त्यसपछि माग थप सुस्ताको छ। तिहारमा केही माग बढ्ने आशामा बैंकलाई सुन आयातको लागि भनेका छौँ।’
उनका अनुसार नेपालीको चाडपर्वमा नयाँ गहना जोड्ने प्रचालन छ। जसले गर्दा गत वर्षहरुमा सुनको माग बढ्थ्यो। तर, यो वर्ष व्यवसाय मन्दी हुँदा कर्मचारी र कालिगढको समेत खर्च जुटाउन समस्या हुन थालेको उनको भनाइ छ। विभिन्न देशबीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा डलर र भारतीय रुपैयाँ कमजोर हुने भएर लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँग नेपालमा पनि बढेको हो। अन्तर्राष्ट्रिय स्तरको भू-राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा सुनको मूल्य एक साताभित्रै प्रतितोला साढे दुई लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान शाक्यको छ।
‘अन्तर्राष्ट्रिय स्तका लगानीकर्ताहरुले सुनको लगानीलाई सुरक्षित मानेर यसतर्फ लगानी बढाए जसले गर्दा नेपालमा पनि मूल्य बढेको हो। आज २ लाख ३८ हजार भए पनि एक साताभित्रै साढे २ लाख माथि पुग्न सक्ने सम्भावना छ। त्यसपछि नेपालीको क्रय शक्ति थप घट्छ र व्यवसाय पनि घट्छ,’ उनले भने।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालीहरुको क्रय शक्ति वर्षेनी घट्दो छ। २०७२ भूकम्पभन्दा अघि चाडपर्वको समयमा प्रतिदिन ६० केजी पनि अपुग थियो। २०७४/७५ सालमा ५० केजी पुग्यो। कोभिडमा ३५ केजी पुग्यो भने हाल काँचो सुन प्रतिदिन २० केजी पनि गएको छैन। अहिले बैंकमा भएको स्टक सुन बिक्री भइरहेको छैन।
संघको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंकिङ प्रणालीमार्फत् १३ हजार ८३ केजी सुन आयात भएको थियो। संघले आयात गरेको सुन चालु वर्षमा बिक्री हुन नसक्दा साउनमा ९८ केजी, भदौमा ८३.५ केजी र असोजमा ३३.५ केजी सुन स्टकमा बसेको थियो।
नेपालमा सुनको मूल्य बढ्नुका पछाडि मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारका कारकहरू र नेपालका आन्तरिक कारकहरूले काम गरिरहेका हुन्छन्। नेपालमा सुनको मूल्य सामान्यतया नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गर्छ। जुन अन्तर्राष्ट्रिय मूल्य, डलरको विनिमय दर र आयात शुल्कमा आधारित हुन्छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा कायम सुनको मूल्य सुनलाई नेपाली रुपैयाँमा परिवर्तन गरेर पछिल्लो दिनको मूल्य कायम गर्छन्।
अन्तराष्ट्रिय बजारमा अक्टोबर ८ तारिखमा साझ ६ बजेसम्म प्रतिऔंस ४ हजार ४६.५६ डलर छ। यो मूल्यको आधारमा नेपालमा मूल्य तय गर्दा २ लाख ४० हजार आजकै मूल्य हुन आउने शाक्य बताउँछन्। नेपालमा रहेका सुन चाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो। सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। बिहान ११ बजे प्रतिऔंस ४ हजार ४४.७० डलर थियो।
२०८२ भदौ दोस्रो सातादेखि २ लाख रुपैयाँमाथि कारोबार भइरहेको छ। ०८२ भदौ १२ गते १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको असोज २२ गते २ लाख ३८ हजार रुपैयाँ प्रतितोला कारोबार भयो।
उनका अनुसार नेपाली बजारको मागले सुनको मूल्यमा केही फरक पर्दैन। अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। सुनको मूल्य तोलामा २०७९ मंसिरमा अन्तिम सातादेखि एक लाख रुपैयाँमाथि पुगेको पुग्यो भने २०८२ भदौ दोस्रो सातादेखि २ लाख रुपैयाँमाथि कारोबार भइरहेको छ। ०८२ भदौ १२ गते १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको असोज २२ गते २ लाख ३८ हजार रुपैयाँ प्रतितोला कारोबार भयो।
यता, संघका निवर्तमान अध्यक्ष मणिक रत्न शाक्यसमेत अन्तर्राष्ट्रिय बजारमा लगानीको क्षेत्र खुम्चिएर सुनका लगानीकर्ता बढेको तर, नेपालका सुन खरिकर्ता घटेको बताउँछन्।
‘अन्तर्राष्ट्रिय जगतको प्रभावले सुनको मूल्यमा उच्च उतार चढाव छ। जसले गर्दा काँचो सुन किनेर गहना बनाउने दैनिक घट्दो छ जसको प्रभाव व्यवसायमा प्रत्यक्ष परेको छ,’ संघका निवर्तमान अध्यक्ष शाक्य बताउँछन्, ‘डलरको विश्वासनीयता कम भएसँगै विश्वका विभिन्न केन्द्रीय बैंकले सुन खरिद गरेर सञ्चित गरिरहेका छन्, विश्वका आधा दर्जन बढी देशले ब्याजदर घटाएर लगानीकर्ताले सुनमा लगानी बढाए, अमेरिकाको नयाँ अर्थ नीतिले पनि सुनको लगानी बढाउँदा मूल्य अन्तर्राष्ट्रिय स्तरमै बढ्यो। नेपालमा भने बढेको मूल्यमा सुन खरिद गर्न सक्ने व्यक्ति कम हुँदै गएका छन्।’
उनका भनाइअनुसार हाल सुनको मूल्य बढ्नुमा भूराजनीतिक परिस्थिति पनि एक कारण बनेको छ। रुस-युक्रेन र इजरायल-प्यालेस्टाइनबीचको द्वन्द्वमा अन्य देशहरु पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न हुन थालेसँगै विश्व बजारमा अस्थिरता र असुरक्षा बढेको छ। यही कारण लगानीकर्ताको ध्यान सुनतर्फ केन्द्रित भई माग बढेपछि यसको मूल्य पनि उकालो लागेको हो।
