काठमाडौं। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको 'ड्यू डिलिजेन्स अडिट (डिडिए) रिपोर्ट' नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। उक्त रिपोर्टअनुसार बैंकले आन्तरिक लापरवाहीका कारण दुई अर्ब रुपैयाँभन्दा बढी दायित्व थप गरेको देखिएको छ। केन्द्रीय बैंकले चार्टर्ड एकाउन्टेन्ट फर्म सञ्जय चौधरी एण्ड एसोसिएट्सबाट तयार गराएको यो रिपोर्ट सार्वजनिक गरेको हो।
अडिट फर्मले बैंकको विगत पाँच आर्थिक वर्षका वित्तीय विवरण, जोखिम अवस्था, नियामक पालना, हिनामिना र सम्भावित सुधार योजनाको समग्र विश्लेषण गरेको छ। नियामकले कर्णालीमा आवश्यक सुधार गर्न सक्ने सम्भावना समेत औँल्याएको छ।
गत वर्षको पुसमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी सुधारात्मक कारबाहीमा रहेको कर्णाली बैंक पछिल्ला पाँच वर्षयता निरन्तर घाटा, असुल नहुने कर्जा, नियामक उल्लंघन र आन्तरिक हिनामिनाले समस्याग्रस्त बनेको डिडिए रिपोर्टमा उल्लेख छ। रिपोर्टका निष्कर्षले बैंकको वित्तीय र सञ्चालन स्थिति निकै कमजोर देखाए पनि सुधारको सम्भावना अझै बाँकी रहेको विश्लेषण गरिएको छ।
डिडिए रिपोर्टअनुसार बैंकले आर्थिक वर्ष २०७७/७८ यतादेखि वार्षिक साधारणसभा नगरेको, राष्ट्र बैंक र धितोपत्र बोर्डमा आवश्यक प्रतिवेदन नबुझाएको र आयकर विवरणसमेत समयमै पेश नगरेको देखिन्छ। यस्ता लापरवाहीका कारण बैंकमा दुई अर्ब ४ करोड ३६ लाख ४१ हजार रुपैयाँ बढी जरिवाना, हिनामिना र ऋण भार थप भएको छ।
समयमै एजिएम नगर्दा र वार्षिक प्रतिवेदन नबुझाउँदा बैंकलाई कम्पनी ऐन, धितोपत्र ऐन र आयकर ऐनअन्तर्गत झन्डै ४१ लाख ५७ हजार रुपैयाँ बराबरको जरिवाना दायित्व सिर्जना भएको छ। त्यसैगरी, बैंकभित्र आन्तरिक लेखापरीक्षकले पहिचान गरेको एक अर्ब ५० करोड २२ लाख रुपैयाँभन्दा बढीको हिनामिना र असुल नहुने रकमलाई समेत डिडिए रिपोर्टमा समायोजन गरिएको छ।
विशेष गरी आन्तरिक नियन्त्रण प्रणाली पुनर्गठन र जोखिम व्यवस्थापन सुदृढीकरणतर्फ बैंक अघि बढ्न खोजेको देखिन्छ।
यस्तै, बैंकले इन्टर ब्राञ्च ट्रान्जेक्सन (आइबिटी)मा भएको हिनामिनामा एक करोड ५० हजार रुपैयाँ, कम्प्युटर सफ्टवेयरको अवमूल्यनमा ५० लाख १० हजार रुपैयाँ, बैंकसँग सम्बन्धित नरहेको व्यक्तिलाई दिइएको कर्मचारी सुविधा कर्जामा ९५ लाख ४९ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) र संकास्पद ऋणीहरूमा एनएफआरएसअनुसारको ४३ करोड १५ लाख २३ हजार रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने रिपोर्टमा उल्लेख छ।
साथै, बैंकद्वारा प्रवाहित कुल कर्जामा थप प्रोभिजन, डिडिए रिपोर्ट खर्च ५७ लाख ९२ हजार रुपैयाँ, २०८१ पुस मसान्तसम्म वित्तीय विवरणमा समायोजन नगरिएको कर्मचारीको सञ्चित बिदा भुक्तानी ९९ लाख रुपैयाँ र स्टेसनरी स्टकमा देखिएको असमानता (डिप्रिसेसन) १ लाख ६७ हजार रुपैयाँ गरी बैंकलाई कुल २ अर्ब ४ करोड ३६ लाख रुपैयाँ दायित्व थप भएको डिडिए रिपोर्टमा उल्लेख छ।
कुल सम्पत्ति ५ अर्ब ३० करोड रहेको बैंकको डिडिए रिपोर्टअनुसार २०८१ पुस मसान्तसम्म खुद सम्पत्ति (नेटवर्थ) १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋणात्मक छ। आवश्यक समायोजन र उचित मूल्यांकन (फेयर भ्यालु) पछि खुद सम्पत्ति दुई अर्ब ४६ करोड ७७ लाख रुपैयाँमा झरेको छ। डिडिए रिपोर्टमा बैंकको आन्तरिक नियन्त्रण र लेखा प्रणाली कमजोर रहेको ठहर गरिएको छ। शाखा स्तरमा अभिलेखमा असंगति, कर्जा फाइल गायब हुने र पदाधिकारी परिवर्तनपछि जिम्मेवारी हस्तान्तरणमा समस्या देखिएको उल्लेख छ।
यद्यपि, बैंकले पछिल्लो समय व्यवस्थापनमा पारदर्शिता र सुधारका लागि केही कदम चालेको रिपोर्टमा उल्लेख छ। विशेष गरी आन्तरिक नियन्त्रण प्रणाली पुनर्गठन र जोखिम व्यवस्थापन सुदृढीकरणतर्फ बैंक अघि बढ्न खोजेको देखिन्छ। तर, भविष्यमा सुधारका लागि ठोस कार्ययोजना आवश्यक रहेको रिपोर्टले औँल्याएको छ। ग्राहकमा विश्वास घटेर बैंकको निक्षेप संकलनमा गिरावट आएको छ।
रिपोर्टले बैंकका जोखिमहरूलाई 'उच्च', 'मध्यम' र 'न्यून' स्तरमा वर्गीकरण गरेको छ। सबैभन्दा उच्च जोखिम 'ऋण जोखिम', 'सञ्चालन जोखिम' र 'प्रतिष्ठागत जोखिम' क्षेत्रमा देखिएको छ। ऋण जोखिममा असुल नहुने कर्जा र कमजोर निगरानी, सञ्चालन जोखिममा हिनामिना, अभिलेख असंगति र लेखा त्रुटि, बजार जोखिममा ब्याजदरको उतारचढाव र सीमित लगानी विकल्प, तरलता जोखिममा निक्षेप घट्दै जानु र असुली ढिलो हुने, कानुनी जोखिममा कर र कम्पनी ऐन उल्लंघनका कारण जरिवाना र प्रतिष्ठागत जोखिममा नियामक कारबाही र लगानीकर्ता विश्वासमा गिरावट उल्लेख छ। रिपोर्टअनुसार बैंकमा क्रेडिट जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र प्रतिष्ठागत जोखिम उच्च छ भने बजार जोखिम र कानुनी जोखिम मध्यम स्तरमा छ।
बैंकले सञ्चालन निरन्तरता कायम राख्न सके पनि तत्काल पुँजी वृद्धि, सञ्चालन पुनर्गठन र जोखिम व्यवस्थापन सुधारका कदम आवश्यक देखिएको रिपोर्टमा उल्लेख छ।
डिडिए रिपोर्टअनुसार २०८१ पुस मसान्तसम्म कर्णाली डेभलपमेन्ट बैंकको ग्रस एनपिएल २३.६ प्रतिशत पुगेको छ। जुन विकास बैंकहरूको औसत एनपिएलभन्दा धेरै हो। असुल हुन नसक्ने कर्जाहरू तीव्र रूपमा प्रवाह भएको, त्यसको अनुगमन नभएको, प्रयाप्त धितो र जमानत नभएका कारण बैंकको आम्दानी घट्दै गई एनपिएल बढेको हो। यस्तै, राष्ट्र बैंकले ११ प्रतिशत तोकेको बैंकको पुँजी प्रयाप्तता अनुपात ९३.६५ प्रतिशत ऋणात्मक छ। साथै, बैंकको तरलता अनुपात १५ प्रतिशतमा सीमित छ भने आरओइ ९.०५ प्रतिशत ऋणात्मक र आरओए १.२८ प्रतिशत ऋणात्मक रहेको छ।
डिडिए रिपोर्टमा बैंकको वित्तीय स्थिति हाल कमजोर अवस्थामा रहेको निष्कर्ष निकालिएको छ। बैंकले सञ्चालन निरन्तरता कायम राख्न सके पनि तत्काल पुँजी वृद्धि, सञ्चालन पुनर्गठन र जोखिम व्यवस्थापन सुधारका कदम आवश्यक देखिएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार बैंक अहिले कठिन वित्तीय अवस्थाबाट गुज्रिरहेको भए पनि, सुधारका लागि व्यवस्थापकीय इच्छाशक्ति र नियामक सहयोग उपलब्ध भएमा यो संस्थाले आफ्नो सञ्चालन पुनर्जीवित गर्न सक्ने सम्भावना विद्यमान रहेको निष्कर्ष निकालिएको छ। डिडिए रिपोर्टको निष्कर्षले तत्काल वित्तीय पुनर्संरचना, जोखिम व्यवस्थापन र पारदर्शिता सुधारका ठोस कदम लिनुपर्ने सिफारिस गरेको छ।