काठमाडौं। सामान्य अवस्थामै पनि हरेक वर्ष दसैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ। चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ। संघीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दसैं सकिएपछि गन्तव्य फर्किने नागरिकको संख्या अत्यधिक भएकाले हरेक वर्ष दसैंको यात्रा कष्टकर हुने गरेको छ।
हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ। बसकोे टिकट पाउन पनि मुस्किल पर्छ। सधैँजसो दसैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो।
दसैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो। मानवीय क्षति व्यहोर्नुपर्यो। राजधानी प्रवेश गर्ने मुख्य नाका अवरुद्ध भए। हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो। असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो। उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दसैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दसैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए। उनले भने, ‘दसैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो। यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो। गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो। सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो।’
दसैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ। बर्सेनि दसैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ। वायुसेवा प्रदायक कम्पनीले दसैं आउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन्।
उसै पनि दसैंमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो। यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन्। समस्यामा परेका यात्रु दुई÷चार दिनसम्म टिकटका लागि भौतारिनुपर्यो। हवाईसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो।
यात्रुलाई मागबमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे। यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए। राति २ः०० देखि ३ः०० बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो।
१० दिनमा एक लाख ३४ हजारले गरे हवाई यात्रा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार १० दिनमा करिब डेढ लाखले हवाईयात्रा गरेका छन्। असोज १२ देखि २१ गतेसम्म कुल एक लाख ३४ हजार ५१५ यात्रुले हवाई यात्रा गरेका हुन्।
यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौँ भित्रिएका छन्। उक्त अवधिमा एक हजार २८५ उडान र एक हजार २६३ अवतरण गरी कुल दुई हजार ५४८ उडान भएका छन्।
एकै दिन १९ हजार २५५ हवाई यात्रु
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिकतर्फ एकै दिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन्। यसमध्ये ९ हजार ९३६ हवाई यात्रु काठमाडौँ भित्रिए भने ९ हजार १३८ बाहिरिएका छन्। एक सय ८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन्। उक्त दिन आन्तरिकतर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए।
आंकडाअनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाईयात्रा गरेका छन्।
वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाईयात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए। यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ।
दसैंको समय भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए। ‘दसैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको तीनचार दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो’, उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ। शनिबारदेखि सामान्य अवस्थामा आउला।’
बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ। कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ। उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए। उनले भने, ‘दसैंमै एक्कासि परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो। गत वर्ष दसैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दसैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन। यो पटक हवाईयात्रा सकसपूर्ण रह्यो।’
क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए। यतीले अहिले दैनिक दुइतर्फी ६० देखि ७० उडान गरिरहेको छ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन्। केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताए। टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे। श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादरअनुसार काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा १७ हजार ५७९ र सबैभन्दा नजिक काठमाडौँ–सिमरामा तीन हजार ९७८ रहेको छ।
अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाईयात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो। हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घन्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो। बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले।
उदाहरणका रूपमा धरानबाट काठमाडौँ आउने बोलेरो जिपले साबिकमा २ हजार भाडा लिने गरेकामा दसैंमा रु तीन हजारदेखि चार हजारसम्म भाडा लिएको पाइयो। त्यसैगरी, कटारी–काठमाडौँ साविकमा एक हजार २०० भाडा थियो। अहिले यात्रुले तीन हजारसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन्।
हरेक वर्ष दसैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ। तर, दसैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ। हवाईयात्रुको चाप बढ्छ। सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाईयात्रुले सास्ती व्यहोर्दै आएका छन्। हवाईयात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ।–रासस