काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पुराना कार्यशैली र मेसिनले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ।
प्राधिकरणले आफ्नो सेवालाई नवीनतम विश्वस्तरीय प्रविधिमा रुपमान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुवातका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा यस्तो कार्यक्रमको सुरुवात गरिएको हो।
प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उदेश्यको सुरुवातसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ। ‘कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरलाई विषयवस्तुबारे पूर्व जानकारी दिइएको थिएन,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘अध्ययनको समय नै नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारे बुझाइलाई सोझै विश्लेषण गरिएको थियो। यसले युवा इन्जिनियरलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम योजनाबारे सोच्न बल पुर्याउने हामीले अपेक्षा गरेका छौँ।’
प्राधिकरणले दिएको जानकारीअनुसार छलफल मुख्यतः तीन वटा स्तम्भमा केन्द्रित गरिएको थियो। ‘चुस्त सेवा अर्थात प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो छरितो बनाउने, दुरुस्त व्यवस्थापन अर्थात डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रो विश्वसनीय प्रसारण अर्थात ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने कुरामा केन्द्रित भएका थिए।
उनले भने, ‘हामीसँग भएका ऊर्जावान युवा इन्जिनियर नै प्राधिकरणको भविष्य हुन्। उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्य अनुसार यो कार्यक्रमको थालनी गरेका हौँ। सुरुवातमै हामी आशावादी भएका छौँ।’ प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ।
नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र मेसिनले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरलाई ‘ड्राइभिङ सिट’मा राखेर अघि बढ्नुपर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम थालनी गरेको समेत जानकारी दिएको छ।
छलफलबाट निस्किएका निष्कर्षहरूलाई छिट्टै कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ। यसले ग्राहकलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्य सम्पादनमा समेत एउटा ठूलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ।
पहिलो कार्यक्रममै प्रविधिमैत्री इन्जिनियरको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले यस्लाई सफलताको सुरुवात भनेको छ। यसले नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्ड अनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ। छलफलले विद्युत सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जानकारी दिएको छ।