काठमाडौं। प्यालेस्टिनी अतिवादी समूह हमासले इजरायलसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेसँगै अपहरणमा परेका जीवित र मृतक बन्धक ४७ जनाको सूची सार्वजनिक गरेको छ।
हमासले अपहरणमा परेका जीवित २० बन्धकको नाम सार्वजनिक गरे पनि नेपाली विद्यार्थी विपिन जोशीबारे कुनै उल्लेख छैन। २० जना जीवित बन्धक सबै इजरायली नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बुधबार राती इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेको थियो। यद्यपि उक्त भिडिओ दुई वर्ष पुरानो भएको बताइएको छ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए।
हाल नामावली सार्वजनिक गरिएका जीवित रहेका बन्धकमा २१ वर्षीय मतन अंग्रेस्त, २७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न रहेका छन्।
२७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन्। यसमा नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।-एजेन्सी