काठमाडौं। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा भएको सरकारी संरचना तोडफोड आगलागीपछि सरकारले गठन गरेको सहायता कोषमा साढे ३ करोड रुपैयाँ बढी सहयोग प्राप्त भएको छ।
सरकारले खोलेको भौतिक पूर्वाधार निर्माण कोषमा बिहीबारसम्म ३ करोड ५१ लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका हुन्।
अर्थ मन्त्रालयले गत असोज ८ मा जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतमा सघाउन कोष खडा गरेको थियो। यो कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ।
उक्त खातामा हालसम्म २ सय ७१ वटा ट्रान्जेक्सनबाट ३ करोड ५१ लाख जम्मा भएको प्रवक्ता पाण्डेयले बताए। कोषमा जम्मा भएको पैसा हालसम्म मन्त्रालयले पुनर्निर्माणका लागि परिचालन गरेको छैन। कोषको पैसा परिचालनका लागि समिति गठन गरी उसले गर्ने निर्णयअनुसार नै हुने पाण्डेयको भनाइ छ।
कोषमा संघीय, प्रदेश एवं स्थानीय तहका साथै निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन मन्त्रालयले अपिल गरेको थियो।
कोषमा दसैं बिदाबाहेक दैनिक सहायता रकम जम्मा भइरहेको छ। हालसम्म सबैभन्दा धेरै असोज २१ मा १ करोड ५० लाखको चेक प्राप्त भएको थियो, जुन सूर्यज्योति लाइफ इन्स्योरेन्सले गरेको हो।