काठमाडौं। यातायात व्यवस्था विभागको सेवा गत भदौ २४ गतेदेखि पूर्णरूपमा अवरुद्ध छ। जेनजी आन्दोलनका क्रममा विभागको केन्द्रीय सर्भरमा भएको आगजनी र तोडफोडपछि सेवा ठप्प भएकाे हाे। यसबाट विभागको भौतिक संरचना मात्र नभई सूचना प्रविधि प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ।
आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर र सर्भरमा क्षति पुगेपछि विभागको सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो। क्षति पुगेको सर्भर मर्मत र आवश्यक उपकरण जुटाएर सेवा सञ्चालन कहिलेदेखि हुन्छ भन्ने अझै अन्योल देखिएको छ।
सेवा पुनः सुचारुको लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी मोहन निरौला बताउँछन्। "सेवा पुनः सुचारुको लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं। भौतिक संरचना निर्माणको काम भइरहेको छ," सूचना अधिकारी निरौलाले भने, "सामान्य सोधपुछ बाहेक अन्य सेवा अवरुद्ध छन्, सुचारु हुन समय लाग्छ।" अहिले लाइसेन्स प्रिन्टिङदेखि ट्रायल, नवीकरणसम्म सबै काम रोकिएको उनको भनाइ छ।
"जेनजी आन्दोलनका क्रममा भएको लुटपाट र आगजनीबाट सर्भर र डाटा सेन्टरमा क्षति भएका कारण तत्कालका लागि सेवा कहिलेदेखि सुचारु हुन सक्छ भन्ने अवस्था छैन।"
यातायात व्यवस्था विभागमा रोकिएको सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने ठ्याक्कै भन्न नसकिने विभागका प्रवक्ता गणेशमान राईले बताए। "सेवा सुचारु कहिलेदेखि हुन्छ भन्ने भन्नै सक्दैनौं," उनले भने, "छिट्टै सेवा सुचारु गर्नका लागि हामीले काम गरिरहेका छौं। तर, कहिलेसम्म गर्न सकिन्छ भन्ने निश्चित रूपमा भन्न सकिने अवस्था छैन।" प्रणाली मर्मत भइरहेको छ, छिट्टै सेवा सञ्चालन हुने आशामा विभाग रहेको उनको भनाइ छ।
"घटनाबाट विभागको सर्भर, हार्डडिस्क र स्क्यान डिभाइसहरू लगायतका महत्त्वपूर्ण उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही उपकरण चोरी भएका छन्," सूचना अधिकारी राई भन्छन्। विभागबाट सञ्चालन भएको सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकाले सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेको उनको भनाइ छ।
आन्दोलनका क्रममा विभागको सर्भर कक्ष, लाइसेन्स छपाइ मशिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट तथा ८ लाखभन्दा बढी तयारी अवस्थामा रहेका इम्बोस्ड नम्बर प्लेटसहितका सामग्री जलेर खरानी भएका थिए।
विभागका प्रवक्ता राईका अनुसार सवारी दर्ता भिआरआईएस र ईआरएस गरी दुई प्रणालीबाट काम हुन्छ, जुन अझै रोकिएको छ। तर, त्यो बाहेक सवारी आयातको काम, ङ र च वर्गका वर्कसपको नवीकरण र तिनको नयाँ दर्ताको काम भने भइरहेको राई बताउँछन्। यातायात व्यवस्था विभागमा हालसम्म प्रशासनिक काम मात्र भएको, अन्य काम भने सुचारु नभएको राईको भनाइ छ।
आन्दोलनको क्रममा आगलागी हुँदा सबैभन्दा ठूलो क्षति सर्भर प्रणालीमा पुगेको छ, जसले गर्दा सवारी लाइसेन्स र सवारी दर्ताको सम्पूर्ण डिजिटल रेकर्ड ध्वस्त भएको छ। चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण काम, जसमा नयाँ आवेदन दर्ता, राजस्व भुक्तानी, लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण—सबै काम रोकिएकाले लाइसेन्सको प्रतीक्षामा रहेका लाखौं सेवाग्राही मारमा परेका छन्। यो घटनाले लाखौं सेवाग्राहीलाई प्रत्यक्ष असर पारेको छ।
यातायात व्यवस्था विभागको सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने कुराको अन्योलताले विशेषगरी, सवारी चालक अनुमतिपत्र बनाउने, नवीकरण गर्ने वा विदेश जाने तयारीमा रहेका व्यक्तिहरूलाई ठूलो समस्या निम्त्याइरहेको छ।