काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। शुक्रबार शीतलनिवासमा आयोजित अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले यस्ताे बताएका हुन्।
उनले सुरक्षाको उचित प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारलाई सुझाव दिए। राष्ट्रपति पौडेलले निर्वाचनबाहेक अन्य विकल्प खोज्ने कुराले देशलाई अप्ठ्यारोमा पार्ने भएकाले कुनै द्धिविधा वा अस्पष्टता नराखी जेनजीको माग सम्बोधन गर्ने प्रतिबद्धताका साथ जनतामा जान दलहरूलाई आह्वान गरे।
बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनका लागि सधैँ तयार रहे पनि निष्पक्ष चुनाव हुनेमा शंका रहेको बताए। उनीहरूले यो शङ्का हटाएर विश्वासको वातावरण बनाउन सरकारलाई आग्रह गरे।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने कुरामा सरकार स्पष्ट रहेको जनाउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिने विश्वास दिलाए। उनले परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरे।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा अन्तरिम सरकारका प्रधानमन्त्रीसहित सबै मन्त्री सहभागी थिए।