काठमाडौं। इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीच दुई वर्ष लामो रक्तपातपूर्ण युद्ध अन्त्यको सहमति भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्धक रिहाइको घोषणा र सम्झौतामा हस्ताक्षर गर्न इजरायल गएका छन्।
हमासले पहिलो चरणमा सार्वजनिक गर्ने जीवित २० बन्धक र तिनका परिवारसँग ट्रम्पले भेट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
बन्धक रिहाइ निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वानमा बोल्दै राष्ट्रपति गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए। उनले अब ‘युद्ध समाप्त’ भएको टिप्पणीसमेत गरे। ट्रम्प आजै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ।
हमासले गाजामा बाँकी रहेका सबै बन्धकलाई स्थानीय समयअनुसार सोमबार रिहा गर्नुपर्नेछ। हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेष हस्तान्तरण गर्ने बताइएको छ।
इजरायलले करिब २५० प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीलाई रिहा गर्नुपर्नेछ।
तर, हमासको कब्जामा रहेका नेपालका विपिन जोशीका बारे भने फरक–फरक समाचार आइरहेका छन्। कतै जोशी जीवित रहेको र आज रिहा हुने भनिएको छ भने कतै रिहा हुनेको सूचीमा उनको नाम नभएको उल्लेख छ।
२०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १,२०० मानिस मारिएका र २५१ जनालाई बन्धक बनाइएको थियो। हमासबाट सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसपछि इजरायलको सैन्य कारबाहीमा १८,००० बढी बालबालिकासहित ६७,००० बढी प्यालेस्टिनी मारिएका छन्।–एजेन्सी